अर्थतन्त्रको राजनीतीकरण भयो : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा संकट नआएको भन्दै यसमा राजनीति नगर्न आग्रह गरेका छन् ।मुलुकको बिग्रँदो अर्थतन्त्रलाई लिएर आफ्नो आलोचना भइरहेका बेला मन्त्री शर्माले सोमवार पत्रकार सम्मेलन गरी अर्थतन्त्र सही दिशामै रहेको तर राजनीतीकरण भइरहेको दाबी गरे । ‘मुलुकको अर्थतन्त्रमा संकट आएको छैन, यसमा राजनीतीकरण गर्ने प्रयास भइरहेको छ,’ उनले भने ।

उनले देशको अर्थतन्त्र श्रीलंकाको जस्तै हुन्छ भनेर अफवाह फैलाउनु राष्ट्रघात भएको समेत बताए । ‘चुनावका लागि पैसा हुँदैन, वृद्धभत्ता दिन पैसा पुग्दैन भनिएको छ । त्यस्तो कुनै समस्या छैन,’ शर्माले भने, ‘सबै अफवाह जोडेर श्रीलंका हुन्छ भनिएको छ । श्रीलंका जस्तो हुन्छ भनेर अफवाह फैलाउनु राष्ट्रघात हो । आजै पनि हाम्रो ट्रेजरीमा ६७ अर्ब छ । त्यसैले त्यो अवस्था आउँदैन ।’

अर्थमन्त्री शर्माले गत फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति रहेको र त्यसले ६.७ महीनाको वस्तु तथा सेवा आयात धान्ने बताए । नेपालको कुल वैदेशिक ऋण १८ खर्ब रुपैयाँ भएको र चालू आर्थिक वर्ष (आव) मा विदेशी ऋणको साँवाब्याज भुक्तानीका लागि सरकारले ४० अर्ब रुपैयाँ मात्रै खर्च गर्नुपर्ने अवस्था रहेकाले देशको अर्थतन्त्र कुनै पनि कोणबाट श्रीलंकाको जस्तो हुन नसक्ने मन्त्री शर्माको जिकीर छ ।

मन्त्री शर्माका अनुसार गतवर्षको तुलनामा विप्रेषण आप्रवाह केही घटे पनि आगामी दिनमा बढ्ने देखिन्छ । अर्थ मन्त्रालयका अनुसार चालू आवको फागुन मसान्तसम्म ६ खर्ब ३१ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको छ । यो पोहोर सोही अवधिको तुलनामा ४ दशमलव ९ प्रतिशतले कम हो । फागुनमा मात्रै ९१ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको भन्दै आगामी दिन सुखद रहने मन्त्री शर्माले दाबी गरे ।

मन्त्री शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले अघि बढाएको छानविन कानूनसम्मत भएको बताए । ‘राष्ट्र बैंक ऐनअनुसार नै गभर्नरमाथि छानविन गरिएको हो,’ मन्त्री शर्माले भने, ‘सर्वाेच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा छानविन समिति बनाइसकिएको छ । १ महीनामा समितिले प्रतिवेदन बुझाउँछ । र, प्रतिवेदनका आधारमा सरकारले निर्णय लिने भएकाले यसबारे अहिले नै थप केही नबोलौं ।’ १ महीनाभित्रमा समितिले सबै तथ्य बुझेर प्रतिवेदन दिने उनको भनाइ छ । गत बिहीवार सरकारले गभर्नर अधिकारीको कामकारबाही जाँचबुझ गर्न समिति गठन गरेपछि उनी निलम्बनमा परेका छन् । आर्थिक अभियान दैनिकमा विजय दमासेले खबर लेखेका छन्

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖