वैकल्पिक व्यवस्थामार्फत विद्युत् जोडिँदै
स्थानीयको अवरोधका कारण गज्र्याङ–नयाँ खिम्ती १३२ डबल सर्किट प्रसारण लाइन निर्माणमा ढिलाइ भएपछि नेपाल विद्युत् प्राधिकरणले उपल्लो खिम्ती र उपल्लो खिम्ती दोस्रो जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने भएको छ । १९ मेगावाट जडित क्षमताका यी आयोजनाबाट उत्पादित विद्युत् गज्र्याङ सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनमार्फत जिरी सबस्टेसनमा जोडिने प्राधिकरणले जनाएको छ ।
जिरी सबस्टेसनबाट चरीकोटस्थित मकैबारी सबस्टेसन हुँदै सिँगटी सबस्टेसनमार्फत विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ । प्राधिकरणले यसका लागि सिँगटी सबस्टेसनमा १३२/३३ केभी, ३० एमभीए क्षमताको छुट्टै पावर ट्रान्सफर्मर जोडी चार्ज गरिसकेको छ ।
गज्र्याङ सबस्टेसनमा रहेको १३२/३३ केभी, ३० एमभीएको पावर ट्रान्सफर्मरलाई एक साताभित्र चार्ज गर्ने तयारी छ ।वैकल्पिक व्यवस्थाअनुसार आयोजनाबाट अहिले उत्पादित करिब १० मेगावाट विद्युत् प्रवाह हुन्छ । गोरखापत्र दैनिकमा खबर छ ।
यो पनि पढ्नुहोस..कर्णाली, स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरू तयारी जुटेका छन् । सत्ता साझेदार दल संयुक्त गठबन्धन बनाएर उम्मेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) स्थानीयस्तरबाटै उम्मेदवार टुङ्गो लगाउँदैछ ।
नेपाली कांगे्रसको नेतृत्वमा सत्ता साझेदार दलहरूले स्थानीय तहसम्मै दलीय संयन्त्र बनाएर चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । कांगे्रसका कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीले १० वटै जिल्लामा सिट बाँडफाँटबारे गहन छलफल भइरहेको बताउनुभयो । “जिल्ला र स्थानीयस्तरमा बनेका पाँच दलीय गठबन्धन बैठकमा यसबारे छलफल चलिरहेका छन्, कतैबाट पनि निष्कर्ष आएको अवस्था छैन्”, उहाँले भन्नुभयो, “विसं २०७४ को निर्वाचनको मतभारलाई आधार बनाएर जिल्ला तहबाटै उम्मेदवारको भागबण्डा लगाउन निर्देशन दिएका छौँ, भागबण्डाको टुङ्गो जिल्लाले नै लगाउने हो ।” सभापति शाहीले प्रदेशस्तरीय गठबन्धनको बैठक आगामी सोमबार बस्ने र उक्त बैठकमा जिल्ला संयन्त्रले पठाएका प्रतिवेदनबारे छलफल हुने जानकारी दिनुभयो । स्थानीय तहबाटै तालमेलको टुङ्गो लगाउँदा परिणाम राम्रो आउने हुँदा तल्ला कमिटीलाई उक्त जिम्मेवारी दिइएको उहाँको भनाइ छ ।
कर्णालीमा ७९ स्थानीय तह छन् । तीमध्ये २५ नगरपालिका र ५४ गाउँपालिका छन् भने ७१८ वडा छन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा ठूलो दल एमाले विभाजनपछि दोस्रो स्थानमा झरेको छ । यहाँ माओवादी केन्द्र हाल पहिलो शक्ति बनेको छ । माओवादी केन्द्रका प्रमुख–उपप्रमुख गरी ५२ जना छन् । एमालेका ४५, कांगे्रसका ४१ प्रमुख–उपप्रमुख छन् । त्यस्तै एमाले विभाजनबाट बनेको नेकपा (एकीकृत समाजवादी)का १७ जना प्रमुख–उपप्रमुख छन् । स्वतन्त्रबाट निर्वाचित प्रमुख–उपप्रमुखको सङ्ख्या पाँच रहेको छ । प्रदेशस्थित सत्ता साझेदार पाँच दलले केन्द्रको निर्देशनअनुसार विसं २०७४ को यही मतभारलाई मुख्य आधार बनाई चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरेका हुन् ।
एमाले भने उम्मेदवार छनोट र सिफारिसमा व्यस्त छ । प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार हालसम्म एमालेका स्थानीय कमिटीले नौ स्थानीय तहको प्रमुख–उपप्रमुखको टुङ्गो लगाइसकेका छन् । “कतिपय स्थानमा सर्वसम्मत र कतिपय स्थानमा मतदानबाट टुङ्गो लगाइएको छ, स्थानीय कमिटीले टुङ्गो लगाउन नसकेका तहको माथिल्लो कमिटीको बैठकले टुङ्गो लगाउनेछ”, प्रदेश अध्यक्ष शाहले भन्नुभयो, “उम्मेदवार सिफारिस गर्दा सकभर निर्विरोध र नभए एक पदका लागि तीन जनाको नाम माथिल्लो तहमा पठाउन स्थानीय कमिटीलाई निर्देशन दिएका छौँ ।” हालसम्म प्रदेशका २७ वडाबाट उम्मेदवारका आकाङ्क्षीहरू माथिल्ला कमिटीमा सिफारिस भएका र ७० वडामा वडाध्यक्ष पदका उम्मेदवार सर्वसम्मत चयन भइसकेको जनाइएको छ ।
एमालेबाट दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका प्रमुख पदमा सूर्यबहादुर शाही, जाजरकोटको बारेकोट गाउँपालिका अध्यक्ष पदमा वीरबहादुर गिरी, भेरी नगरपालिकाको प्रमुखमा चन्द्रप्रकाश घर्ती, कालिकोटको नरहरिनाथ गाउँपालिका अध्यक्षमा टेकबहादुर बुढा, दैलेखको दुल्लू नगरपालिका प्रमुखमा रुद्रबहादुर शाही, जुम्लाको कनकासुन्दरी गाउँपालिका अध्यक्षमा मानबहादुर रोकाया, हिमा गाउँपालिका अध्यक्षमा जयबहादुर खत्री, पातारासी गाउँपालिका अध्यक्षमा सुकराम रावत सर्वसम्मत सिफारिस हुनुभएको छ ।


