सय दिनदेखि त्रिविमा ताल्चा
त्रिभुवन विश्वविद्यालयमा ताल्चा लागेको सय दिन पुगेको छ ।मुलुकको उच्च शिक्षामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको विश्वविद्यालयमा यति लामो समय ताला लाग्दा पनि खुलाउने प्रभावकारी पहल भएको छैन ।विभिन्न बहानामा हुने आन्दोलनका कारण उच्च शिक्षाको ८० प्रतिशतभन्दा बढी भार बोकेको उक्त संस्था शैक्षिक, प्रशासनिक तथा आर्थिक रूपमै लथालिङ्ग बनिसकेको छ ।
आन्दोलनकारीसँग छलफल गरेर समस्या समाधानका लागि पहल भए पनि वार्ता सफल नहुँदा विश्वविद्यालयको छवि अन्तर्राष्ट्रियस्तरमै धूमिल हुन सक्ने भन्दै यस क्षेत्रका विज्ञले चिन्ता व्यक्त गर्नुभएको छ । नेपाल विद्यार्थी सङ्घले विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिस्ट्रार (कुल सचिव)को कार्यकक्षमा गत माघ ६ गतेदेखि ताला लगाएको छ । जनकपुरस्थित युथ क्याम्पसलाई बीसीए (ब्याचलर अफ कम्प्युटर एप्लिकेसन) कार्यक्रम सञ्चालनका लागि दिएको सम्बन्धन आर्थिक लेनदेन नमिल्दा विश्वविद्यालयले खारेज गरेको आरोप लगाउँदै उक्त सम्बन्धन यथावत् राख्नुपर्ने माग सङ्घको छ ।
अनियमिततामा लाग्नेलाई कानुनी कारबाही हुनुपर्ने तथा विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने माग पनि उनीहरूको छ । विश्वविद्यालयमै कार्यरत आंशिक प्राध्यापकले पनि करारमा नियुक्ति दिनुपर्नेलगायतका माग राख्दै तीनवटै पदाधिकारीको कक्षमा ताला लगाएको छ । गोरखापत्र दैनिकमा सूर्यप्रपास पाण्डेले खबर लेखेका छन् ।
यो पनि पढ्नुहोस..गण्डकी, पोखरा विश्वविद्यालयले पोखरा महानगरपालिका–३०, खुदी, ढुङ्गेपाटनमा आफ्नो १०० शय्याको शिक्षण अस्पताल निर्माणका लागि विस्तृत प्रारम्भिक वातावरणीय परीक्षण (आइई) अध्ययन प्रतिवेदन तयार गर्न सम्झौता गरेको छ ।विश्वविद्यालयका रजिष्ट्रार डा दीपकबहादुर भण्डारी र श्रेष्ठ कन्सल्टेन्ट प्रालि, ललितपुरका प्रबन्ध निर्देशक इन्द्रलाल श्रेष्ठबीच उक्त सम्झौता भएको विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिनुभयो । वातावरणीय परीक्षणबाट अस्पतालको स्थापनाले स्थानीय क्षेत्रमा भौतिक, जैविक, सामाजिक–आर्थिक, जनस्वास्थ्य र सांस्कृतिक पक्षमा पर्नसक्ने सम्भावित वातावरणीय प्रभावका पहिचान, सम्भावना र विश्लेषण गर्नेछ ।
प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्नेतर्फ अध्ययन प्रतिवेदन केन्द्रित हुने र यस कार्यले परियोजना वा अस्पताल क्षेत्र तथा यसको वरपरका समुदायलाई पर्यावरणीय स्रोत, सामाजिक–आर्थिक र स्वास्थ्य लाभमा सुधार पहुँच गर्नसमेत मद्दत पुग्ने विश्वास लिइएको छ । वातावरणीय परीक्षण अध्ययन प्रतिवेदन चार महिनाभित्र पूरा गर्नुपर्ने छ ।पोखरा विश्वविद्यालय अस्पताल निर्माण एउटा बृहत् योजना भएको र यसका आवश्यक पूर्वाधार निर्माण गर्न अझै केही वर्ष लाग्ने भएकाले विश्वविद्यालयले हालको छात्रावासलाई परिमार्जन गरी अस्पताल सञ्चालनको तयारी गरिरहेको ढकालले जानकारी दिनुभयो । छात्रावासलाई स्थायी अस्पताल भवन नबनेसम्म १०० शय्याको अस्पतालको रूपमा प्रयोग गर्ने योजनास्वरूप विश्वविद्यालयले बोलपत्र आह्वान गरिसकेको छ ।


