पालिका स्तरिय दोस्रो पाख्रिबास कप फुटबल असोज २६ बाट
धनकुटा । जिल्लाको पाख्रीबास नगरपालिका ४ स्थित खेल मैदानमा पालिका स्तरिय दोस्रो पुरुष फुटबल प्रतियोगिता असोज २६ बाट हुने भएको छ ।
हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशैं तथा तिहारको अवसर पारेर पाख्रीबास युथ युनाइटेडले गत बर्षदेखि आयोजना गर्न लागेको उक्त प्रतियोगितामा जिल्लाकै सात वटै पालिकाहरुको सहभागिता रहने छ ।
आयोजकले उपलब्ध गराएको टाईसिट अनुसार जम्मा ८ टीम(आयोजक टीम सहित) ले प्रतियोगितामा भाग लिनेछन् । जसअनुसार खेलको पहिलो दिन आयोजक टीम र धनकुटा नगरपालिकाका बीच दिनको १२ बजे हुनेछ भने दोस्रो खेल चौबिसे गाउंपालिका र सहिदभूमि गाउंपालिका बीच दिउंसो २ बजे हुनेछ । दुबै टीमबाट छानिएर आएका टीमले असोज २८ गते दिनको १२ बजे सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै प्रतियोगिताको अर्को खेल असोज २७ मा छथरजोरपाटी गाउंपालिका र सांगुरीगढी गाउंपालिका बीच दिनको १२ बजे हुनेछ भने प्रतियोगिताको दोस्रो खेल पाख्रीबास नगरपालिका र महालक्ष्मी नपाका बीच दिनको २ बजे हुनेछ । दुबै टीमबाट जितेकाले सेमिफाइनलमा असोज २८ गते दिनको २ बजे फाइनल प्रबेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको फाइनल खेल असोज २९ गते दिनको १ बजे हुनेछ । प्रतियोगितामा प्रथम र दोस्रो हुने टीमलाई क्रमश: रु एक लाख र कप,मेडल र पचास हजार र कप,मेडल प्रदान गरिने छ ।
प्रतियोगिता पाख्रीबास युथ युनाइटेडको आयोजना तथा पाख्रीबास नगरपालिकाको सह-आयोजनामा हुने युथ युनाइटेडका अध्यक्ष गणेश गुरुंगले बताउनु भयो ।


