सहिदभूमिमा श्रमको सम्मान, राष्ट्रको अभियान भन्ने नाराका साथ न्युनतम रोजगार, नागरिकको अधिकार विषयक अभिमुखीकरण सञ्चालन
धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं ६ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत श्रमको सम्मान, राष्ट्रको अभियान भन्ने नाराका साथ न्युनतम रोजगार, नागरिकको अधिकार विषयक अभिमुखीकरण सञ्चालन गरिएको छ ।
न्यूनतम रोजगारीका लागि आवेदन तथा सामाजिक र आर्थिक उन्नतीमा सघाउ पुर्याउने उद्देश्यका साथ अभिमुखीकरण सञ्चालन गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक सिता पौडेलले जानकारी दिनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष रत्नश्वरी राईको प्रमुख आतिथ्य तथा वडाध्यक्ष देवकुमार राईको अध्यक्षतामा सञ्चालित अभिमुखीकरणमा ७१ जनाले सहभागिता जनाएका थिए ।
सोही अवसरमा सो वडाका ७० घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरिएको छ भने सोही अवसरमा सञ्चालन गरिएको नि:शूल्क पशु स्वास्थ्य शिविरमा ६० घरपरिवारको कुकुर, बिरालोलाई रेविज विरुद्धको खोप लगाईएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा वडा सदस्यहरु सहित निमित्त प्रमुख प्रशासकीय अधिकृत फकिर मोहम्द, लेखा शाखा प्रमुख नितेश यादव, पशुशाखा प्रमुख नगेन्द्र पौडेल, सम्बन्धित शाखाका कर्मचारी लगायतको उपस्थिती थियो । शिविरमा मेडिकल अधिकृत डा. प्रेम वहादुर बस्नेतको टोलिले सेवा दिएको थियो ।




