धनकुटा महोत्सव अपडेट : घाईते ३० मध्ये १२ जना उपचारपछि फर्किए
धनकुटा । धनकुटा महोत्सवमा कलाकार प्रमोद खरेलको कन्सर्ट हेर्न आएका वेला भिडमा परि घाईते भएका मध्ये १२ जना उपचारपछि फर्किएका छन् ।
जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीका अनुसार भिडमा परेर घाईते भएका मध्ये सामान्य उपचारपछि धनकुटा हस्पिटलबाट १२ जना गएराती नै डिस्चार्ज भएका हुन् ।
बाँकीलाई उपचारका लागि विपीकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा १८ जनाको त्यही उपचार भईरहेको छ । बाँकी २ जनाको त्यहाँ उपचार हुन नसकेपछि गोल्डेन हस्पिीटल विराटनगर लगिएको छ ।
विपीमा उपचाररत १८ जना घाईतको स्वास्थ्यवस्था सुधारोन्मुख रहेको महोत्सव आयोजक उद्योग वाणिज्यसंघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो ।
हस्पिटलमै रहनुभएका अध्यक्ष राईका अनुसार ती मध्येपनि एकजना डिस्चार्ज हुने तयारीमा रहेका छन् । अन्यको अवस्था सुधारोन्मुख रहेको उहाँको भनाई छ । अन्य २ जनाको गोल्डेन हस्पिटलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
अत्यधिक भीडका कारण ठेलाठेल गर्दा भिडमा परि गएराती ३० जना दर्शक घाईते भएका थिए । यसैवीच पूर्व तयारी अनुसार अब महोत्सव पून:सञ्चालन गर्ने की नगर्ने भन्नेबारे सूरक्षा निकाय, आयोजक र अन्य सरोकारवालाहरुको बैठक बसेपछि निर्णय हुने प्रहरीले जनाएको छ । बैठक विहान ११ वजे बस्ने छ ।


