किराँत राई साँस्कृतिक कलाकार संघ धनकुटाको चौथो जिल्ला अधिवेशन सम्पन्न
धनकुटा । किराँत राई साँस्कृतिक कलाकार संघ धनकुटाको चौथो जिल्ला अधिवेशन आज धनकुटामा सम्पन्न भएको छ ।
संघका केन्द्रिय सचिव पूर्ण कुमार राईको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष जीवन राईको अध्यक्षतामा सम्पन्न अधिवेशनले नयाँ कार्य समिति गठन गरेको छ । समितिको अध्यक्षमा सांगेन राई,सचिवमा जुनी खालिङ सहसचिवमा रेजिना राई र कोषाध्यक्षमा जीवन खालिङ रहेका छन् ।
अन्य सदस्यहरुमा लक्ष्मी राई,सन्तोष राई लगायत रहेको संघका निर्वतमान अध्यक्ष जीवन राईले जानकारी दिनुभयो । समितिमा उपाध्यक्ष सहित अन्य सदस्याहरु आवश्यक्ताको आधारमा थप गरिने समितिले जनाएको छ । अधिवेशनमा किरात राई योयोखाका जिल्ला अध्यक्ष उद्धवमणी राई,किरात राई साँस्कृतिक कलाकार संघका सदस्य सुखकला राई,पूर्व संस्थापक अध्यक्ष गौरव नारायण राई,नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राई,किरात राई पत्रकार संघ धनकुटाका सचिव जयन्ती राई लगायतको उपस्थिती थियो ।


छ महिनाभित्र श्रम मन्त्रालयमा टाइम कार्ड
काठमाडौँ, १७ माघ (रासस) :श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सेवाग्राहीलाई सहजरुपमा सेवा उपलब्ध गराउन टाइम कार्ड सुरु गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आगामी छ महिनाभित्र टाइम कार्डमार्फत सेवाग्राहीलाई सेवा उपलब्ध गराउने बताउनुभयो ।
“श्रमसम्बन्धी सेवा तोकिएको समयमा पाउनका लागि श्रम टाइम कार्ड लागू गर्ने तयारी भएको छ”, उहाँले भन्नुभयो, “टाइम कार्डमा तोकिएको सेवा दिन नसक्ने कारण भए दिनुपर्छ, झुलाउने काम गर्न पाइएन, त्यसको कारण दिनुपर्छ ।” श्रम मन्त्रालयमा पाँच वर्ष अगाडि नै श्रमिकका गुनासो लिनका लागि कल सेन्टर स्थापना गरिएको थियो । कल सेन्टरको काम प्रभावकारी नभएका भन्दै आलोचना हुने गरेको छ ।
मन्त्रालयले आजदेखि ‘श्रमाधानः २४ घन्टे श्रम सहायता केन्द्र’ सञ्चालनमा ल्याएको छ । स्वदेश तथा विदेशमा रहेको श्रमिकले पाउने अप्ठ्यारा, गुनासा समाधानका लागि केन्द्रमा टेलिफोन गरेर टिपाउन सक्ने उहाँको भनाइ छ । “आजदेखि २४ घन्टा कल सेन्टर सुरु भएको छ”, उहाँले भन्नुभयो । छ महिनाभित्र श्रमाधानको मोबाइल एप पनि सार्वजनिक गरिने मन्त्री अर्यालले बताउनुभयो । उक्त एपमार्फत श्रम मन्त्रालयसँग सम्बन्धित गुनासो गर्न दर्ता गर्न सकिने छ ।


