छथरजोरपाटी गाउँपालिकाले आयोजना गरेको कम्प्युटर सम्बन्धी ४ दिने क्षमता विकास तालिम सम्पन्न
धनकुटा,११ फागुन । धनकुटाको छथरजोपाटी गाउँपालिकाले आयोजना गरेको सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुका लागि कम्प्युटर सम्बन्धी ४ दिने क्षमता विकास सम्बन्धी तालिम सम्पन्न भएको छ ।
गाउँपालिकाको आयोजनामा फागुन ८ गते बाट सुरु भएको क्षमता विकास तालिम सम्पन्न भएको हो । क्षमता विकास तालिममा छथरजोपाटीका सामुदायीक तथा संस्थागत विद्यालयका शिक्षक तथा शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
क्षमता विकास कार्यक्रमको समापन कार्यक्रमा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जीमीले तालिमका क्रममा सिकेका कुराहरु लाई अब विद्यालयका कक्षाकोठा सम्म पुग्ने दायित्व तालिमका सहभागी शिक्षक शिक्षिकाको भएको भन्दै यस तालिमले समग्र छथरजोरपाटीका सामुदायीक तथा संस्थागत विद्यालयहरुमा प्रविधी मैत्री बन्दै जाने आफुहरुले विश्वास लिएको बताउँनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष गिता गुरुङ्ग खेवाले पछिल्लो समय प्रविधीको विकास छिटो छिटो हुदै गएकोले समय अनुसार वालवालिकाहरु लाई शिक्षा दिनु पर्ने र गाउँपालिकाले आयोजना गरेको तालिम महत्वपूर्ण रहेको बताउँनु भयो । त्यस्तै शिक्षा शाखा प्रमुख निर्मला सुवेदीले तालिममा सिकेका कुराहरु लाई व्यावहारीक रुपमा लागु गर्नु पर्ने बताउँनु भयो ।
तालिमको सहजीकरण मोहन घिमिरे लगायतले गर्नु भएको थियो भने समापन कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिती समेत रहेको थियो ।





