कमरेडहरुको कहिल्यै नसकिने संगठन बिस्तार

जीवनप्रसाद राई । नेपालमा बहुदलीय ब्यवस्थाको उदय २०४६ सालमा भईरहदा त्यो बेला नेपालको जनसंख्या १ करोड, ८४ लाख, ९१ हजार ९७ जना थियो । प्रतिब्यक्ति आय अमेरिकी डलरमा सालाखाला ७ सयको हाराहारीमा थियो । ३४ बर्षको अन्तरालमा नेपालको जनसंख्या ३ करोड हाराहारीमा पुगेको र प्रतिब्यक्ति आय डलरमा जम्मा १ हजार ३ सय मात्रै रहेको देखिन्छ । त्यही बेला देखि नै नेतृत्वमा रहेका ब्यक्तिहरु नै आजको दिनमा पनि हालीमुहाली गरिरहेको देखिन्छ । माधव कुमार नेपाल, केपी शर्मा ओली, झलनाथ खनाल लगायतका नेताहरु त्यही बेला देखि कै मुख्य पात्रहरु हुन । पछिल्लो समयमा प्रचण्ड, बाबुराम भट्टराईहरु थपिए ।

जुनबेला अपर सफलता प्राप्त गरेको भनिएको बहुदलीय ब्यवस्था आउदा ताकामा हामीभन्दा कैयौ पछाडि रहेका मुलुकहरु जस्तै बंगलादेश, भुटानले हामीलाई तीन गुणाले उछिनि सकेका छन । यसैगरि दक्षिण कोरिया र सिंगापुर हामी संगसंगै गईरहेका मुलुकहरु थिएँ । आजको दिनमा उनीहरुको आयको हिसाब गर्ने हो भने दक्षिण कोरियाको प्रतिब्यक्ति आय डलरमा ३२ हजार देखिन्छ । भने सिंगापुरको ८२ हजार देखिन्छ । यो हिसाबमा कोरियाको २५ गुणा र सिंगापुरको ६३ गुणा धेरै नेपालीहरुको भन्दा बढी आय रहेको देखिन्छ ।

(जीवनप्रसाद राई)

बिगत ३४ बर्षको ईतिहास हेर्दा कोरिया, सिंगापुर, भुटान र बंगलादेशका पार्टीहरुले कतिको संगठन बिस्तार गरे त्यो खोजिको बिषय होला तर नेपालमा कम्युनिष्ट पार्टीहरु अर्थात कमरेडहरुले सधै निरन्तरता दिईरहेको बिषय हो संगठन बिस्तार । उ बेलामा जति संगठन बिस्तारमा समय खर्चे आजको दिनमा पनि उतिकै समय खर्चेका छन कमरेडहरुले । यस्तो लाग्छ कि संगठनले नै सबै कामहरु फत्ते गर्दछन । मुलुकको समग्र बिकासमा फड्को मार्ने कार्यहरु उत्पादनको बिस्तार र बिकास, प्रतिब्यक्ति आयको बृद्धि लगायतको कार्यहरु संगठन बिस्तारका अभावले रोकिएका क्षेत्रहरु हुन । यसैले यो अपरिहार्य बिषय हो एकपछि अर्को नेतृत्वले यसलाई बिसाउन चाहदैनन । वा गज्जब छ हामी भन्दा कैयौ पछाडि रहेृको मुलुकहरु हामीलाई कैयौ गुणा पछाडि छोडिसके तैपनि संगठन बिस्तारको कार्य सदाबहार चलिरहेको छ ।

उदेकलाग्दो बिषय:

लाखौ लाख कार्यकर्ता तथा समर्थक भएका कम्युनिष्ट पार्टीहरुले उत्पादन र आय बृद्धिको बारेमा योजना बनाउन नसक्नु र कार्य गर्न नसक्नु पक्कै पनि समर्थक र कार्यकर्ताको कमजोरी होईन । उत्पादन र आयबृद्धिलाई प्राथमिकतामा राख्दा जुनसुकै खाले सरकार बहुमत, अल्पमतबाट पनि काम गर्न सकिन्छ । तर प्राथमिकतामै नराखे पछि कसरी काम हुन्छ ? कमरेडहरुले शुरुमा जनतालाई कसरी आश्वस्त पारेका थिए भने नेपालमा राजाका कारणले बिकास हुन सकेन, यसपछि सबैभन्दा ठुलो दुश्मन कांग्रेस बन्न पुग्यो कांग्रेसका कारणले गर्दा नेपालमा बिकासका कार्यहरु अघि बढ्न सकेन । राजा सधैका लागि समाप्त भएको छ । नेपाली कांग्रेस आजको दिनमा नेपालमा के हुदैछ भन्ने हेक्का समेत राख्न नसक्ने अवस्थामा पुगेको छ । नेपालमा बामपन्थीहरु उदय रहरलाग्दो खालको छ । तर उत्पादन योजना र जनताको आय बृद्धि गर्नेतर्फको मार्ग खोल्न सकेको देखिन्दैन । यो नै नेपालका लागि बामपन्थीहरुको र बामपन्थीहरुका कारण नेपाली जनताको दुर्भाग्य हो भन्दा अन्याय हुनेछैन ।

बहुदलिय ब्यवस्था स्वीकार गरेको मुलुकहरुमा मिलिजुली सरकार कैयौ देशले संचालन गरेको हामीले देखेका छौ । प्राय ति सबै देशहरुको उन्नति र प्रगति भएको पनि हामीले देखेका छौ । मिलिजुली सरकार चलाउनका लागि सबैभन्दा आवश्यक बिषय हो ईमान्दारिता । इमान्दार पुर्वक सत्ता संचालन गर्ने हो भने त्यसबाट देश र जनताका लागि डेलिभरी गर्न सकिन्छ भन्ने उदाहरण हाम्रै मित्रराष्ट्र भारत हो । यसपछि बंगलादेशले समेत हाम्रो जस्तो नै नियति भोग्दै अन्तिममा स्थायी सरकार दिन सफल भयो । नेपालमा यो हुन सकेन कारण राजनीतिक बेईमानी नै हो ।

नेपालमा बहुदल प्राप्त भईरहदा सातौ पंचबर्षीय योजना संचालनमा थियो । त्यो बेला सरकारले खर्च गर्नका लागि ५०४१ करोड रकम बिनियोजन गरेकोमा ४८३४.५५ करोड ९६ प्रतिशत खर्च गरेको थियो । पछिल्लो पन्ध्रौ पंचबर्षीय योजना समाप्तिको चरणमा आईपुग्दा पुँजीगत भन्दा प्रशासनिक खर्च अधिक मात्रामा बढ्न गएको र पुँजीगत खर्च समेत हुन नसकेको जस्ता समस्याहरु हामीले ब्योहोर्न परेको अवस्था छ । नेपालको अर्थतन्त्रलाई बितरणमुखी अर्थतन्त्रको रुपमा बिकास गर्न खोजियो यसरी बिकास गरिरहदाँ उत्पादनलाई चटक्कै बिर्सनु नै आजको नेपाल हुन पुगेको छ । कम्युनिष्टहरुले भने जसरी राजाले उत्पादन गरेनन अनि जनताको आर्थिक अवस्था उठाउनका लागि प्रयास गरेनन । त्यसपछिका लामो सत्तारोहण गरेको कांग्रेसले समेत त्यो बिषयमा ध्यान दिएन यस बिषयमा कम्युनिष्टहरु सही छन । तर आफुलाई अब्बल सम्झने कमरेडहरुलाई केले रोक्यो ? जनताको आर्थिक अवस्था सुधार गर्न र उत्पादन बृद्धि गर्नका लागि । उनीहरुले आर्थिक बृद्धि र उत्पादन गर्नुपर्छ भन्ने बिषय नै बिर्से ।

कमरेडहरुलाई तीन सुझाब 

पहिलो सुझाब : उत्पादन बृद्धि गर्ने योजना ल्याउ

नेपालमा पछिल्लो समय कम्युनिष्ट सरकारको जगजगी भईरहेको बेलामा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट प्रत्येक दिन २ हजार जनाले बोर्डिङपास बोकेर बैदेशिक रोजगारीका लागि लाम लागेको देखिन्छ । के यो आम कम्युनिष्टहरुका लागि राम्रो बिषय हो त ? यसो किन भईरहेको छ त्यतातिर जिम्मेवार कम्युनिष्ट पार्टीका नेताहरुले ध्यान दिन सकेका होलान त ? संभवता जिम्मेवार कम्युनिष्ट पार्टीका नेताहरुका लागि यो जनताको समस्याले कतिपनि छुन सकेको देखिन्दैन । यदि नेपालमा प्रभावकारी उत्पादनका योजनाहरु ल्याउने हो भने नेपालको कुल जनसंख्याले काम गर्न नसकेर बिदेशीहरु समेत ल्याएर काममा लगाउनुपर्ने अवस्थाको सिर्जना गर्न सकिन्छ । यसप्रकारका उत्पादनका क्षेत्रहरु बेमौसमी तथा मौसमी तरकारीहरुको उत्पादन र यसको ब्यवस्थित बजारीकरणको लागि कार्य संभव छ ।

यसैगरि उत्तरतिरको छिमेकी मुलुकको मागलाई मध्यनजर गरेर हामीले बंगुरको बडेमाको उत्पादनलाई प्राथमिकतामा राखेर कार्य गर्न सक्नेछौ । अन्तराष्ट्रिय क्षेत्रमा माग बढ्दै गरेको चिया तथा कफीको उत्पादन र प्रशोधनलाई हामीले प्राथमिकतामा राखेर कार्य गर्न सक्नेछौ ।

यसैगरि उच्च मुल्य र बहुमुल्य आउने जडिबुटी तथा कृषि बस्तुलाई समेत उत्पादनको योजना बनाई कार्य गर्न सकिनेछ । यतातर्फ सोचौ न कमरेडहरु हो । संभवत सुतेकालाई उठाउन सकिन्छ तर सुतेको नाटक गर्नेहरुलाई उठाउन संभव छैन ।

नेपालमा कम्युनिष्टहरु सुतेको नाटक मंचन गरिरहेका छन, उनीहरुको कान टालिएको छ, आँखामा पहेलो रोगले ग्रसित बनाएको छ, हात खुट्टामा कुष्ठरोग लागेको छ भने दिमागमा गोबरले भरिएको छ । उनीहरुलाई सुधारन खोज्नु भनेको मुर्खता शिवाय केही पनि होईन । तैपनि सानो आशा राखौ ।

दोस्रो सुझाब : सेवा क्षेत्रको बिस्तारमा कार्य गरौ

नेपालको पर्यटन क्षेत्रले बिश्वका मानिसहरुको ध्यान आकृष्ट गर्न सक्नेमा दुईमत छैन । उतिकै आन्तरिक पर्यटनको समेत बिकास स्वतः स्फुर्त रुपमा भईरहेको देखिन्छ । तर खोई सरकारी योजना ? खोई कमरेडहरुको योजना ? भनिन्छ एकजना पर्यटकको आगमनले ९ जनालाई रोजगारी सिर्जना हुन्छ । पर्यटनका लागि भौतिक पुर्वधारका कार्यहरुको योजना खोई ? गुणस्तरीय पर्यटकहरु ल्याउदा उनीहरुका लागि घुम्ने, खाने, बस्ने ठाँउहरु खोई ? बिदेशीहरुले नेपालमा करोड खर्चिदा नेपालीहरुले बिदेशमा अर्ब खर्चने अवस्था आएको छ । त्यसलाई सम्बोधन गर्ने योजना खोई ? कमरेडहरु हो यदि अझै पनि स्पष्ट योजना बिना नै नेपालमा शासन गर्ने, चुनाव जित्ने योजना बनाईरहेको छौ भने अब पश्चिम बंगालको जस्तो कम्युनिष्ट पार्टीहरुको ईतिहास मात्रै बाँकी रहन सक्ने दिन नजिकै आउदैछ है । पछिल्लो उदाहरण हो रास्वपा । आगामी चुनावमा अझै यो बढ्ने देखिन्छ । अझ यसमा स्वतन्त्र रुपमा जितेका बालेन शाह, हर्क साम्पागं र गोपी हमालले कमाल गरिरहेका दृश्यले समेत कम्युनिष्टहरुको आयु छोटिदै गएको देखिन्छ । समयमै बल गरौ नत्र ईतिहास बनौ ।

तेस्रो सुझाब : संगठन बिस्तार होईन क्षमता बिस्तारमा ध्यान देउ

पंचायतकालीन अवस्थामा जस्तो सुकै कार्य गर्नका लागि तयार भएका कम्युनिष्ट कार्यकर्ताहरु आज मासु चिउरा बिना एकपाईला अघि जान नसक्ने अवस्थामा पुगेको देखिन्छ । उ बेला मर्नका लागि तयार र सयौ रात भोकै बस्नका लागि समेत तयार जमात आज ३४ बर्षको अन्तरालमा आकाश र जमिन जतिकै फरक भएको देखिन्छ । यसैले कमरेडहरुलाई महत्वपुर्ण सुझाब के हो भने अब संगठन बिस्तारको होईन क्षमता बिस्तारका लागि कार्य गर्न आवश्यक देखिन्छ ।

प्रत्येक कम्युनिष्ट कार्यकर्ताले सीप जानेको होस, प्रत्येक कार्यकर्ताले कार्य गरेर खाना र ब्यवसाय गर्न जानेको होस यसप्रकारको तालिम तथा मेहनेत गर्ने बिषयमा ध्यान दिनुपर्ने देखिन्छ । परम्परागत रुपमा निरन्तरता दिईरहेको संगठन बिस्तारले कम्युनिष्ट कार्यकर्ताहरु आजको दिनमा चिया पसलमा बिहान चिया पिउदै अरुको आलोचना गर्ने र दिनभरी तास खेल्ने जमातमा रुपान्तरण भएको अवस्था छ । के नेपालमा कम्युनिष्ट पार्टीले सोचेको संमृद्धिको बाटोमा यस्तो तरिकाले र यस प्रकारका संगठित सदस्यहरुको साथ लिएर गन्तब्यमा पुग्न सकिन्छ ? एकपटक मुठी उठाएर सोचौ त कमरेडहरु हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।