युरोपबाट फर्किपछि नेपालले भने- राजाले गिरफ्तार गर्दा त भागिनँ, म भाग्ने खालको मान्छे होइन
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना आफ्नो कुनै संलग्नता नरहेको दोहोर्याएका छन् । सोमवार युरोप भ्रमण छोट्याएर फर्किएपछि विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले ललिता निवास जग्गा प्रकरणमा आफूले कुनै बद्मासी नगरेको दोहोर्याएका हुन् ।
प्रकरणको छानबिनमा आफूले सहयोगीको भूमिका निभाउने गर्ने उनले बताए । ‘ललितानिवास जग्गा प्रकरणमा कुनै बदमासी भएको छ भने छानबिन होस् । मेरो सहयोगीको भूमिका रहनेछ । मैले नितान्त असल मनसायले, नेपाल सरकारको जग्गा सरकारकै नाममा हुनु पर्दछ भन्ने मनसायले काम गरेको हो । कानूनसम्मत् ढंगले गरिएको हो,’ उनले भने ‘त्यो जग्गा सरकारको नाममा ल्याउने काम भएको हो । मेरो कुनै संलग्नता छैन । सबैको छिनोफानो होस् । दोषी नउम्किउन्, निर्दोष नफसुन् ।’
अध्यक्ष नेपालले आफू नभागेको प्रष्टीकरण दिएका छन् । चुनौतीको सामना गर्न तयार भएर भ्रमण छोट्याएर आएको उनले बताए । सर्वोच्चबाट ललिता निवासको छानबिन अघि बढाउन आदेश आएको भोलिपल्टै आफू पूर्वनिर्धारित कार्यक्रममा विदेश गएको सन्दर्भमा माधव नेपाल भाग्यो भनेर हल्ला फैलाएको उनको टिप्पणी थियो । ‘कसैले माधव नेपाल भाग्यो भनेर पनि लेखे । लुकेर बसेका छन् । फर्किँदैनन् भने । माधव नेपाल भाग्ने मान्छे होइन,’ उनले भने, ‘गोली चलेको बेलामा त नभाग्ने मान्छे । राजाले गिरफ्तार गर्दा त नभाग्ने मान्छे म । सबै चुनौती सामना गर्ने मान्छे हुँ । कुनै गल्ती नै नगरेको सन्दर्भमा किन भाग्ने ? तर्सेर भाग्ने खालको मान्छे माधव नेपाल होइन । भ्रमण छोट्याएर आएको छु । नबिराउनू र नडराउनू भन्ने मेरो शुरूदेखिको मान्यता छ । मैले केही बिराएको छैन । बदमासी गरेको छैन । भ्रष्टाचार गरेको छैन ।’
गत साउन २२ गते युरोप जानु एक दि अघि सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नेपाललगायत बाबुराम भट्टराईलाई पनि छानबिन गर्ने बाटो खोलिदिएको थियो । सर्वोच्च अदालतले आदेश दिएको भोलिपल्ट विदेश गएपछि उनीबारे टिकाटिप्पणी समेत भएको थियो ।


