बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसर हिलेमा मेला तथा नि:शूल्क स्वास्थ्य शिविर
धनकुटा । आज साउन शुक्लपञ्चमी, नागपञ्चमी पर्व मनाईदै छ । परम्परा अनुसार पूजा अर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर यो पर्व मनाईने गरेको छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिने साथै अग्नि, मेघ र चट्याङको डर नहुने धार्मिक विश्वास रहेको पाईन्छ ।
नाग सञ्चमीको अवसरमा धनकुटाको धनकुटा नगरपालिका वडा नं १ हिले स्थितको धार्मिक तथा पर्यटकीय स्थल श्री बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरको १३ औ वार्षिकोत्सव मनाईदै छ । यो अवसरमा मन्दिर परिसरमा नागपञ्चमी मेला लाग्ने र नि:शूल्क स्वास्थ्य शिविर सञ्चालन गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
स्वास्थ्य शिविर नेपाली सेनाको भीमदल गण सल्लेरी धनकुटा र २ नं वाहिनी अड्डा हिलेले सञ्चालन गर्न लागिएको हो । आम नागरिकको स्वास्थ्य सेवालाई ध्यान दिदै नि:शूल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको जनाईएको छ ।


