रोकिएन बिपी प्रतिष्ठानको आन्दोलन

धरान : उच्च अदालत विराटनगरले बढुवा प्रक्रियाको कानुनी बाटो खोलिदिए पनि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलन अझै रोकिएको छैन ।

आन्दोलन जारी रहँदा उपचारका लागि आउने बिरामी र प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी मारमा परिरहेका छन् । उच्च अदालतले बुधबार प्रतिष्ठानको अवरुद्ध शिक्षक, कर्मचारीको बढुवा प्रक्रिया अघि बढाउने कानुनी बाटो खोलिदिएको थियो । तर आन्दोलनरत शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले आज दिउँसो संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कार्यकारिणी परिषद् बैठकबाट बढुवा प्रक्रियाको अन्तर्वार्ता तालिका स्वीकृत नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।

प्रतिष्ठानका निमित्त उपकुलपति प्रा डा प्रल्हाद कार्कीले अदालतको फैसलालाई आफूले सर्वमान्य ठानेका बताउनुभयो । उहाँले तत्काल यसको समाधान गर्न शिक्षक तथा कर्मचारीलाई अपिल गरिएको बताउनुभयो । तर आन्दोलनरत पक्षले भने विश्वस्त हुन नसकेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

शिक्षक कल्याण समाजका अध्यक्ष डा सेराज अहमद खानले विगतमा पनि प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भएको तर कार्यान्वयन हुन नसकेकाले फेरि पनि प्रक्रिया अगाडि बढ्नेमा आशङ्का लागेकाले आन्दोलन जारी राख्नु परेको बताउनुभयो ।

कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले आन्दोलनमा सहभागीलाई प्रतिशोध साँधेर कारबाही नगर्ने प्रतिबद्धता पनि आउनुपर्ने बताउनुभयो । अदालतको आदेशपछि आज आन्दोलनरत पक्षबीच दिनभर आन्दोलन रोक्ने कि अघि बढाउने भन्ने विषयमा छलफल भएको थियो । छलफलपछि आन्दोलन जारी राख्ने निर्णय भएको हो ।

आन्दोलनका कारण प्रतिष्ठानको शैक्षिक गतिविधि नै ठप्प भएको र आफूहरुको भविष्य अन्योलतातर्फ धकेलिएको भन्दै गत शुक्रबारदेखि प्रतिष्ठानको उपकुलपतिको कार्यालय अगाडि रिले अनशन बसेका विद्यार्थीले अदालतको फैसला र निमित्त उपकुलपति कार्कीले जनाउनुभएको सहमतिका आधारमा शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने बताएका छन् । विद्यार्थी कल्याण समाजका अध्यक्ष डा ओम शान्ति रजकले शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले जबसम्म शैक्षिक गतिविधि सञ्चालन हँुदैन तबसम्म आफूहरुको अनशन जारी रहने जानकारी दिनुभयो ।

बढुवा प्रक्रियाविरुद्ध परेको मुद्दामा न्यायाधीश विपुल न्यौपाने र सूर्यनाथप्रकाश अधिकारीको इजलासले बुधबार बढुवासम्बन्धी कारबाहीको हकमा अन्तरिम आदेश जारी गर्नुपर्ने नदेखिएको ठहर गरेको थियोे । उक्त इजलासले प्रचलित कानुन बमोजिमको मापदण्ड एवं प्रक्रिया पूरा गरेर नियमित एवं आवधिकरुपमा गरिने आन्तरिम बढुवासम्बन्धी कारबाहीलाई रोक्न सुविधा सन्तुलनको दृष्टिकोणले उपयुक्त नहुने जनाएको छ ।

प्रतिष्ठानको नियमावली २०५५ को नियम १२.३ ले प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीको बढुवासम्बन्धी अधिकार उपकुलपतिको अध्यक्षतामा गठित छनोट समितिलाई दिएको देखिएको पनि आदेशमा उल्लेख छ । यद्यपि, अदालतले अन्तरिम बढुवा, स्तर वृद्धिबाहेक रिक्त रहेको दरबन्दीमा सुरु भर्ना वा स्थायी नियुक्ती गर्दा प्रचिलत ऐन, नियमावली, स्वीकृत नीति, मापदण्ड एवं लोकसेवा आयोगको सामान्य सिद्धान्त विपरीत हुने गरी तथा लोकसेवा आयोगको सहभागिता नगराई नयाँ भर्ना वा नियुक्ती नगर्न, नगराउन मुद्दाको टु्ङ्गो नलागेसम्म अन्तरिम आदेश दिएको छ ।

प्रतिष्ठानमा बढुवा प्रक्रियालाई लिएर प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीले संयुक्त रुपमा पुस २९ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।