भोजपुरमा हत्या गरिएका मृतक चारै जनाको शव पोस्टमार्टमका लागि धरान पठाइयो
भोजपुर । भोजपरको रामप्रसादराई गाउँपालिका– २ धोद्नेखानीमा हत्या गरिएका एकै परिवारका ४ जनाको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
मृतक सबैको शव आइतबार भोजपुर अस्पताल पुर्याइएको थियो । त्यहाँ ‘फरेन्सिक’ जाँच गर्ने उपकरण नभएको र घटना गम्भीर रहेकाले पोस्टमार्टमका लागि धरान पठाउनुपर्ने अवस्था आएको भोजपुर प्रहरीका निमित्त प्रमुख, इन्स्पेक्टर दीपक श्रेष्ठले जानकारी दिए ।
सामूहिक हत्याको घटना भएकाले अनुसन्धानको लागि ‘फरेन्सिक’ रिपोर्ट आवश्यक पर्ने प्रहरीले जनाएको छ । सबै शवलाई सोमबार बिहान धरान पठाइएको श्रेष्ठले बताए ।भोजपुर नगरपालिका–२ का ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी र ९ वर्षीय साला सपन गिरीको हत्या गरेको प्रहरीले जनाएको छ । शनिबार राति हत्या गरेपछि राईले नै प्रहरीलाई घटनाको जानकारी गराएका थिए ।
उनको पनि शरीरका २–३ ठाउँमा चोट रहेको घाइते अवस्थामा भेटिएका थिए । राईको धरानमै उपचार भइरहेको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।गिरी दम्पतीका ४ छोरा र २ छोरी थिए । ३ छोरा र १ छोरी काठमाडौंमा बस्दै आएको प्रहरीले जनाएको छ ।
घरमा १ छोरी र १ छोरासहित गिरी दम्पती बस्दै आएका थिए ।घरमा बस्दै आएका सबैको हत्या भएको इन्स्पेक्टर श्रेष्ठले बताए । उनका अनुसार गिरी दम्पतीले छोरीलाई फिर्ता नपठाएको र माइतीमै राखेको विषयमा विवाद भएपछि राजेन्द्रले छुरा प्रहार गरेर सबैको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


