ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते
ताप्लेजुङ । ताप्लेजुङमा चट्याङले लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ । सिदिङ्वा गाउँपालिका–३ थुङरुङ्वाका राज कुमार लिम्बू (देवान) को उपचारको क्रममा मृत्यु भएको हो ।
३९ वर्षीय देवान मङ्गलबार साँझ ५ः२० बजे आफ्नै घरमा बसिरहेका बेला वर्षासँगै परेको चट्याङले लाग्दा घाइते हुनुभएको थियो । घाइते देवानलाई उपचारका लागि स्वास्थ्यचौकी साब्लाखु लगिएको थियो ।
उपचारको क्रममै उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङको शव गृहमा राखिएको छ ।
यस्तै, सिदिङ्वा गाउँपालिका पाँच लिम्बूदिनका मिसन लिम्बू पनि चट्याङ लागेर घाइते हुनुभएको छ । मङ्गलबार साँझ ६ बजेको समयमा घरको एमसिबी झार्ने क्रममा १७ वर्षीय लिम्बू चट्याङले लागेर घाइते हुनुभएको हो । घाइते लिम्बूको स्वास्थ्य चौकी साब्लाखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।-रेडियो आठराई


