झापामा ग्यास लिक भएर आगलागी, एकै परिवारका चारजना घाइते
झापा । झापा जिल्लाको हल्दीवारी गाउँपालिका–४ स्थित ओली चौकमा सोमबार बिहान ग्यास लिक भएर भएको आगलागीमा एकै परिवारका चारजना घाइते भएका छन्।
स्थानीय ६० वर्षीय पुण्य प्रसाद ओलीको पक्की घरको दोस्रो तलाको भान्सामा बिहान ८:४० बजेको समयमा ग्यास चुहावटका कारण अचानक आगो सल्किएको हो। रोटी पकाउने क्रममा ग्यासबाट आगो सल्किएपछि लागलागी भएको जनाइएको छ।
आगलागीमा घरधनी ओलीसहित उनका दुई छोरा र बुहारी घाइते भएका छन्। आगो निभाउने क्रममा उनीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पताल लगिएको थियो भने गम्भीर अवस्थाका कारण थप उपचारका लागि बिराटनगर रिफर गरिएको छ।
घाइते हुनेमा ६० वर्षीय पुण्य प्रसाद ओली (शरीरका विभिन्न भागमा मध्यम पोलेको), उनका छोरा ३३ वर्षीय सन्तोष ओली, बुहारी ३२ वर्षीया अनिता ओली र कान्छो छोरा २० वर्षीय आर्यन ओली रहेका छन् । तीनै जनाको अवस्था सामान्य रहेको बताइएको छ।
आगलागीबाट घरको भान्सा कोठामा आंशिक क्षति पुगेको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी पोष्ट कञ्चनश्रीबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा बिहान ९:१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


