यि हुन् एनपिएलमा रन आउट भएर आउट भए वापत १ करोड रुपैयाँ दिने प्रस्ताव राख्ने प्रेमि-प्रेमिका
काठमाडौ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलाडीलाई म्याच फिक्सिङ गराउने ठूलो प्रयास सार्वजनिक भएको छ।
यसै प्रकरणमा प्रहरीले भारतीय युवक २८ वर्षीय दिलप्रित सिंह र बर्दिया–८ मगरागढकी २४ वर्षीया, हाल चण्डीगढ बस्दै आएकी रेविका सिंह ठकुरीलाई पक्राउ गरेको हो। रेविकाले आफू स्पोन्सर खोज्ने व्यक्ति भन्दै इन्स्टाग्राममार्फत ६/७ एनपीएल खेलाडीलाई म्यासेज गरिन्। उद्देश्य– खेलाडीहरूसँग नजिकिनु, र फिक्सिङ प्रस्ताव अघि बढाउने।
म्यासेज पाएका खेलाडीमध्ये एक खेलाडीले मात्र प्रतिक्रिया दिए। यही बाटोबाट सम्पर्क अगाडि बढ्यो। ३० कात्तिकमा रेविका दिलप्रित सिंहलाई लिएर विशेष उद्देश्यका साथ काठमाडौं आइन्। त्यसपछि उनले प्रतिक्रिया दिएका खेलाडीलाई फेरि म्यासेज गरी होटलमा भेट्न बोलाइन्।
खेलाडी बाहिर निस्कन नसक्ने भन्दै आफू बसेकै होटलमा भेट्न सहमत भए।
१ मंसिरमा यी तीन जनाबीच होटलमा प्रत्यक्ष भेट भयो।
खेलाडीले सोधे, “स्पोन्सर भनेको कसरी ?”
त्यतिबेला उनीहरूले वास्तविक प्रस्ताव राखे,
म्याचमा रन आउट भएर आउट भएबापत १ करोड रुपैयाँ दिने।
यो सुनेपछि खेलाडीले मानेनन् र घटना आफू बसेको टिमलाई सुनाए। टिमले पनि ढिलाइ नगरी सोही दिन (१ मंसिर) मा अपराध अनुसन्धान कार्यालय, टेकुमा जानकारी दियो। प्रहरीले खेलाडीबाट प्राप्त सबै विवरण, च्याट र प्रमाणको आधारमा निगरानी गर्यो।
प्रमाण पुष्टि भएपछि लाजिम्पाटबाट दुवै जना पक्राउ परे। दुवैले मिलेर एनपीएलका खेलाडीलाई पैसा देखाएर रन आउट हुन प्रेरित गर्दै म्याच फिक्सिङ गर्न खोजेको अपराध अहिले पूर्ण रूपमा प्रमाणित भइसकेको छ।


