जेनजी आन्दोलनको आवरणमा हतियार लुटेर भागेका ३ जना झापा र इलामबाट परे पक्राउ
काठमाडौ । जेनजी आन्दोलनको आवरणमा काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट हतियार लुटेर भागेका ३ जना झापा र इलाममा पक्राउ परेका छन् ।
कार्यालयमा आगजनी, तोडफोड र हतियार लुटपाटको घटनामा संलग्नहरु पक्राउ परेको झापा प्रहरीले जनाएको छ । प्रहरीको साथबाट लुटिएका २ थान चाइनिज पेस्तोल (टाइप–५४ पेस्तोल) र २० राउण्ड गोली पनि प्रहरीले बरामद गरेको छ ।
पक्राउ पर्नेमध्ये १ जना नेपाली कांग्रेसका नेता विश्वदीप लिङ्देनका छोरासमेत रहेका छन् । विश्वदीप लिङ्देन २०६४ सालमा माओवादीबाट विजयी बनेका संविधानसभा सदस्यसमेत हुन् । यो घटनाले नेताहरुकै सन्तान र आफन्त आगजनी, लुटपाटसमेतका घटनामा संलग्न रहेको तथ्य उजागर भएको छ ।
प्रहरीले सुरुमा हतियार लुटेर भागेकामध्ये झापाको दमक नगरपालिका–८ का २५ वर्षीय सरोज पुरीलाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय दमक र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले दमक–८ स्थित एभरेस्ट बोर्डिङ स्कुल छेउबाट सोमबार राति उनलाई पक्राउ गरेको थियो ।
पुरी सुरुमा पक्राउ परेपछि प्रहरीले टाइप–५४ पेस्तोल, त्यसको म्याग्जिन र १५ राउण्ड गोली बरामद गर्यो । उनलाई इलाका प्रहरी कार्यालय दमकमा लगेर सोधपुछ गर्दा उक्त हतियार दमक–६ प्रशान्ती टोलका २९ वर्षीय विश्व लिङ्देनकहाँ राखेको बताए ।
त्यसकै आधारमा प्रहरीले विश्व लिङ्देनलाई घरबाटै पक्राउ गर्यो । विश्व नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य विश्वदीप लिङ्देनका छोरा हुन् ।
थप सोधपुछमा विश्व लिङ्देनले आफूले सरोज पुरीमार्फत प्राप्त पेस्तोल इलामको चुलाचुली गाउँपालिका–४ आइतबारेका ३० वर्षीय पवन हाङसुङ्वालाई २० हजार रुपैयाँमा बिक्री गरेको खुलाए ।उनको बयानपछि लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय दमककको संयुक्त टोली इलाम पुगेको थियो । त्यहाँ हाङसुङ्वाको बारीमा खाल्डो खनेर रातो प्लास्टिकको झोलामा लुकाइ राखेको ५ राउण्ड गोली लोड गरिएको चाइनिज टाइप–५४ पेस्तोल बरामद भयो । त्यसलगत्तै उनलाई पनि प्रहरीले पक्राउ गर्यो ।
प्रहरीका अनुसार बरामद गरिएको पेस्तोलमा खिया लागेको छ । बरामद दुवै पेस्तोल, २० राउण्ड गोली र तीनै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि काठमाडौं पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थल रानीपोखरी भएकाले अनुसन्धान एवं कारबाहीको प्रक्रिया काठमाडौंबाट अघि बढ्ने छ । राजनीतिक पृष्ठभूमि भएकै कारण विश्व लिङ्देनको संलग्नताले घटनालाई थप संवेदनशील बनाएको छ ।
२०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट उम्मेदवार बनेका विश्वदीप लिङ्देनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका थिए । पछिल्लो समय उनी कांग्रेस प्रवेश गरेका थिए ।
प्रहरीको हतियार लुटपाट घटनामा उनका छोरा पक्राउ परेपछि घटनाले नयाँ मोड लिएको छ । प्रहरीले यस प्रकरणमा अरूको संलग्नता छ कि छैन भनेर पत्ता लगाउन अनुसन्धानको दायरा फराकिलो पारेको छ ।-बेतना दैनिक


