निर्वाचनलाई लक्षित गर्दै प्रमुख राजनीतिक दलहरूसँग प्रधानमन्त्री कार्कीले गरे संवाद सुरु
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रमुख राजनीतिक दलहरूसँग संवाद सुरु गरेकी छन्। बिहीबार उनले नेकपा एमालेका शीर्ष नेतृत्वसँग सिंहदरबारमा भेटवार्ता गर्दै निर्वाचनलाई सहज र संस्थागत बनाउन सबै दलले भूमिका खेल्नुपर्नेमा जोड दिएकी छन्।
प्रधानमन्त्री कार्कीसँगको छलफलमा एमालेको तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी थिए। प्रधानमन्त्री सचिवालयका अनुसार कार्कीले जेनजी आन्दोलनले उठाएको मुख्य सन्देश नयाँ जनादेश भएकाले एमालेले पनि चुनावी तयारीतर्फ खुलेर लाग्नुपर्ने आग्रह राखिन्।
तर, भेटमा एमालेले सरकार गठनमै संवैधानिक त्रुटि भएको दाबी गर्दै निर्वाचनमा निष्पक्षता र सुरक्षा वातावरणबारे गम्भीर प्रश्न उठाएको छ। नेता महेश बर्तौलाका अनुसार एमालेले संसद पुनर्स्थापनासम्बन्धी सर्वोच्च अदालतमा परेको रिट छिटो टुंगिनुपर्ने र देशभरका घटनाक्रमले चुनावी वातावरण कमजोर बनाइरहेको सरकारलाई जानकारी गराएको हो।
एमालेले हालै अवकास पाएका आइजिपी चन्द्रकुवेर खापुङलाई फुली उतारेपछि तत्कालै स्थानहद तोकिएको घटनाले सुरक्षाकर्मीको मनोबलमा ठूलो चोट पुगेको पनि प्रधानमन्त्रीलाई बताएको छ। ‘भागेका कैदी, हराएका हतियार, शान्ति–सुरक्षाको अवस्था, यिनै कारणले चुनावको वातावरण बनेको छैन,’ नेता बर्तौलाले भने।
प्रधानमन्त्री कार्कीलाई एमालेले सरकारका कामकारबाहीले सन्तुष्टि नदिएको पनि सुनाएको छ। बर्तौलाका अनुसार, ‘हामी लोकतान्त्रिक दलका रूपमा जनमतको सामना गर्न तयार छौं, तर निष्पक्षता र भयमुक्त वातावरण सुनिश्चित गर्न सरकारले गम्भीर प्रयास गर्नुपर्छ।’
यसअघिका दल दर्ता प्रक्रियामा सहभागी हुँदै एमालेले चुनावमा जाने तयारी अघि बढाइसकेको छ। तर, सुरक्षा, कानुनी स्पष्टता र राजनीतिक स्थिरता नहुँदा निर्वाचनप्रति शंका बढ्दै गएको एमालेले स्पष्ट पारेको छ।


