धनकुटाको साँगुरीगढी स्थित जनसेवा प्राथमिक विद्यालयमा दिवा खाजा कार्यक्रम अनुगमन
हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ स्थित जनसेवा प्राथमिक विद्यालयमा सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रम तथा विद्यालयको समग्र अवस्था गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बिहीवार अनुगमन गरेका छन् ।
संघीय सरकारले प्रतिविद्यार्थी रू.१५ प्रदान गर्दै आएको दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँपालिकाले थप रू.१० योगदान गरेको छ। यससँगै विद्यालयका विद्यार्थिहरूलाई दैनिक रूपमा प्रतिविद्यार्थी रू.२५ बराबरको दिवा खाजा उपलब्ध गराइने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।
अनुगमनका क्रममा शिक्षक तथा अभिभावकहरूले दिवा खाजा कार्यक्रमले विद्यार्थीहरूलाई ठूलो राहत पुगेको धारणा व्यक्त गरे। विशेषगरी टाढाबाट पैदल हिँडेर विद्यालय आउने विद्यार्थीहरू भोकै बस्नुपर्ने अवस्थाबाट मुक्त भएको र नियमित अध्ययनमा सकारात्मक प्रभाव परेको उनीहरूको भनाइ थियो।
अध्यक्ष राईले विद्यार्थीको स्वास्थ्य, उपस्थिति र सिकाइमा सुधार ल्याउने लक्ष्यसहित कार्यक्रमलाई अझ व्यवस्थित र दिगो बनाइने प्रतिबद्धता व्यक्त गरे ।


