सोलुखुम्बुको शान्ति सामुदायिक वनमा आगलागी
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका–१ लोसनपार्कस्थित शान्ति सामुदायिक वनमा आगलागी भएको छ । आज बिहान करिब ११ः०० बजेको समयमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका सुचना अधिकारी विकास राइले जानकारी दिनुभयो । उहाँको अनुसार उक्त सूचना ११ः३० बजेको समयमा प्रचौ बुङमा प्राप्त भएको थियो।
सूचना प्राप्त हुनासाथ तत्काल प्रचौ बुङबाट प्रहरी निरीक्षकको कमाण्डमा तथा इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी बरिष्ठ हवल्दारको कमाण्डमा ३ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। साथै महाकुलुङ गाउँपालिकाको दमकल, स्थानीयवासी तथा सरोकारवालाहरूको संयुक्त प्रयासमा करिब १३ः३० बजेको समयमा आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
आगलागीबाट करिब ५ रोपनी बराबरको क्षेत्रफलमा फैलिएको झारपात तथा बोटबिरुवा जलेर नष्ट भएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभएको र थप भौतिक संरचनामा असर भने परेको छैन् । आगलागीको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वन क्षेत्रमा आगलागीका घटना दोहोरिन नदिन सतर्कता अपनाउन, आगो प्रयोग गर्दा विशेष सावधानी अपनाउन र शंकास्पद गतिविधि देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन समेत प्रहरीले आग्रह गरेको छ।-स्रोत :सोलु एफएम


