झापाको बिर्तामोडमा मोटरसाइकल दुर्घटनामा परि दुई पुरुषको मृत्यु
झापा । झापाको बिर्तामोड गिरीबन्धु चिया बगान नजिक मोटरसाइकल दुर्घटनामा परि दुई पुरुषको मृत्यु भएको छ।
बिर्तामोड वडा न. ६ गिरीबन्धु टी इस्टेट नजिक पूर्वपश्चिम राजमार्गमा चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नं २०० सीसीको एनएस मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार चालक भद्रपुर वडा न.५ बस्ने बर्ष २५ का भुपाल अधिकारी र तत्काल नामथर वतन नखुलेका बर्ष अन्दाजी २५ का युवक घाइते भएका थिए ।
अनुहार,मुख र शरीरको बिभिन्न भागमा भित्री चोटपटक लागेर घाइते भएकाहरुलाई उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ल्याई डाक्टरले चेकजाँच गर्दा दुवै जनाको मृत्यु भइसकेको थियो । मृतकहरुको शव तत्काल सोही अस्पतालको शवगृहमा रहेको छ ।
मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


