भक्तपुर २ बाट एमाले सचिव महेश बस्नेत एकल उम्मेदवारका रूपमा सिफारिस
काठमाडौ । नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र समन्वय कमिटीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि महेश बस्नेतलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाउने निर्णय समन्वय कमिटीले गरेको हो।
एमाले सचिव बस्नेतका अनुसार उक्त क्षेत्रमा प्रारम्भमा राजेन्द्र राजथला र अनिल श्रेष्ठले पनि उम्मेदवारीका लागि दाबेदारी प्रस्तुत गरेका थिए। तर पार्टीभित्र एकता र सहमतिलाई प्राथमिकता दिँदै दुवैले आफ्नो दाबी फिर्ता लिएपछि सर्वसम्मत रूपमा आफूलाई उम्मेदवार सिफारिस गरिएको उनले बताए। उनले सहमतिको वातावरण बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।
देशभर प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेकपा एमालेले विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिसको प्रक्रिया तीव्र बनाएको छ। कतिपय स्थानमा सर्वसम्मत रूपमा उम्मेदवार चयन गरिएको छ भने कतै बहुआकांक्षी देखिएपछि आन्तरिक छलफल वा मतदानमार्फत उम्मेदवार सिफारिस गर्ने प्रक्रिया अपनाइएको पार्टीले जनाएको छ।
निर्वाचन कार्यतालिका अनुसार प्रतिनिधिसभातर्फ प्रत्यक्ष उम्मेदवारी दर्ता यही माघ ६ गते हुने तय भएको छ। एमालेले तोकिएको समयसीमाभित्र सबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याउने तयारी गरेको बताउँदै आएको छ। भक्तपुर–२ मा महेश बस्नेतको एकल सिफारिससँगै चुनावी गतिविधि थप सक्रिय बन्ने अपेक्षा गरिएको छ।


