बिर्तामोडमा मोटरसाइकल दुर्घटनामा परेका १८ वर्षीय समरको उपचारका क्रममा मृत्यु
झापा । झापाको बिर्तामोडमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड नगरपालिका वडा नं. ६ निवासी १८ वर्षीय समर मुसलिम रहेका छन्।
गत पुस ३० गते साँझ ५:३० बजेको समयमा बिर्तामोड–६ स्थित किराँतचोक भित्री सडक खण्डमा बुट्टाबारीबाट किराँतचोकतर्फ जाँदै गरेको मे २ प ६५७८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परी टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका मुसलिमलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याइएको थियो।
अस्पतालमा उपचार भइरहेकै क्रममा स्वास्थ्य अवस्था बिग्रँदै गएपछि माघ १० गते दिउँसो ३:३० बजे चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्। मृतकको शव अहिले सोही अस्पतालमा राखिएको छ। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।


