पार्टी अध्यक्ष ओलीलाई तत्काल रिहाई गर्न एमाले धनकुटाको माग
धनकुटा,१४ चैत । नेकपा(एमाले) धनकुटाले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल रिहाई गर्न माग गरेको छ ।
एमाले धनकुटाले जिल्ला अध्यक्ष शिव आङ्गला लिम्बु हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गर्दै रिहाईको माग गरेको हो ।
२०८२ साल फागुन २९ गते सम्पन्न निर्बाचनबाट गठित सरकारले नेकपा (एमाले) का अध्यक्ष एवम् पुर्ब प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई कथित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा केही समय अगाडी पक्राउ गरेर प्रतिशोधपूर्ण कार्य गरी मुलुकलाई द्वन्द्व र मुठभेड तर्फ धकेल्ने काम गरेको छ ।
भाद्र २३ र २४ गतेको परिघटनालाई योजनाबद्ध र संगठित रुपमा हाइज्याक गरेर जननिर्बाचित सरकार र संसद बिघटन गर्दै गैरसंबैधानिक बाटोबाट बनेको सरकारले गठन गरेको तथाकथित असंबैधानिक, पुर्वाग्रही र प्रतिशोधपूर्ण आयोगको प्रतिवेदन कार्यन्वयनको नाममा सरकारले मुलुकको लोकतान्त्रिक शक्तिहरुमाथि प्रहार र आक्रमण शुरु गर्नु, नेकपा (एमाले) का अध्यक्ष लगायतलाई पक्राउ गर्नुलाई नेकपा (एमाले) जिल्ला कमिटी धनकुटाले सिंगो कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलन माथिको नाङ्गो प्रहार र दमन शुरु भएको ठहर गरेको छ ।
यस प्रहार र दमनको घोर निन्दा र भर्त्सना गर्दै पार्टीका श्रद्धेय अध्यक्ष लगायत गिरफ्तार गरिएका नेताहरुलाई तत्काल रिहाई गर्न र यसप्रकारको प्रतिशोधपूर्ण कार्य अविलम्ब बन्द गर्न जोडदार माग गर्दछौं । यस प्रकारको दमन र नाङ्गो रवैयाबाट कति पनि विचलित नभई सरकारको यस खाले नाङ्गो प्रहार र दमनका बिरुद्व आन्दोलन र संघर्षमा उत्रनका लागि तयार रहन जिल्ला पार्टीसम्बद्ध सम्पुर्ण पार्टी पंक्ति, समर्थक एवम् शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौं,विज्ञप्तिमा उल्लेख छ ।



