धनकुटाको साँगुरीगढी–८ थलुङटारमा नयाँ वर्ष विशेष पर्यटन महोत्सव हुने
हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ८ तरीटोलस्थित थलुङटारमा आगामी नयाँ वर्ष २०८३ सालको अवसरमा “पर्यटन साँगीतिक महोत्सव” कार्यक्रम आयोजना हुने भएको छ। श्री तम्मर थलुङटार पर्यटन क्षेत्र पूर्वाधार विकास उपभोक्ता समितिको आयोजनामा महोत्सव सञ्चालन हुन लागेको हो।
स्थानीय पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण तथा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित गायक कृष्ण भक्त राई र जुनी खालिङ राईको विशेष प्रस्तुति रहनेछ।
यसका साथै स्थानीय कलाकार सुभास राई, अर्जुन साम्पाङ राई र अर्जुन सुभारा राईले पनि आफ्नो सांगीतिक प्रस्तुति राख्नेछन्। त्यस्तै, चर्चित नृत्यकार सरू राईको समूहले आकर्षक नृत्य प्रस्तुत गर्नेछन्। र यस महोत्सवको मिडिया पार्टनर एचआर न्युज रहेको छ।
नयाँ वर्षको अवसरमा आयोजना हुन लागेको यस महोत्सवले तम्मर थलुङटार क्षेत्रको पर्यटन सम्भावना उजागर गर्नुका साथै स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ। आयोजकले महोत्सवमा उपस्थित भई कार्यक्रम सफल बनाउन सम्पूर्ण दर्शक तथा शुभेच्छुकहरूलाई आग्रह गरेका छन्।


