गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयद्वारा पाँच स्रष्टा सम्मानित
धनकुटा । गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालय, देवानटारले आफ्नो १५औँ वार्षिकोत्सव तथा साधारणसभाको अवसरमा भाषा, साहित्य, कला, संस्कृति, समाजसेवा र पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका पाँच जना स्रष्टा तथा समाजसेवीलाई सम्मान गरेको छ।
पुस्तकालयका अध्यक्ष घनश्याम बरालका अनुसार यस वर्षको ‘गर्गश्री सम्मान’ सुनसरीका साहित्यकार कृष्णप्रसाद अधिकारीलाई प्रदान गरिएको छ। त्यस्तै, ‘धनमाया लामिछाने स्मृति पुरस्कार’ विराटनगरकी लक्ष्मी पोख्रेल सुवेदी, ‘धनञ्जय घिमिरे स्मृति सम्मान’ धनकुटाका आनन्दसन्तोषी राई, ‘डिल्लीमाया बराल स्मृति एकल महिला समाजसेवा पुरस्कार’ झापाकी राधादेवी घिमिरे तथा ‘लक्ष्मीकान्त–देवकन्या–रुक्मिणी स्मृति पुरस्कार’ धनकुटाका माधवप्रसाद दाहाललाई प्रदान गरिएको हो।
सम्मानित व्यक्तित्वहरूलाई पुस्तकालयका संस्थापक टिकाप्रसाद लामिछाने, साहित्यकार विवश पोख्रेल, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ तथा पुस्तकालयका पदाधिकारीहरूले सम्मानपत्र, दोसल्ला र नगदसहित सम्मान गरेका थिए।
कार्यक्रमका अवसरमा आयोजित सृजना वाचन कार्यक्रममा जिल्लाका तथा बाहिरका करिब एक दर्जन साहित्यकार र कविहरूले आफ्ना रचना प्रस्तुत गरेका थिए। पुस्तकालयका महासचिव मुकुन्द प्रयासका अनुसार यस्ता कार्यक्रमले साहित्यिक गतिविधिलाई थप सशक्त बनाउँदै आएको छ।
वि.सं. २०६८ सालमा टिकाप्रसाद लामिछाने र पुण्यप्रभा लामिछानेले करिब दुई करोड रुपैयाँ बराबरको सम्पत्ति दान गरेपछि स्थापना भएको पुस्तकालय अहिले धनकुटाको महत्वपूर्ण शैक्षिक तथा बौद्धिक केन्द्रका रूपमा परिचित छ।
साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार पुस्तकालयको कुल सम्पत्ति हाल करिब पाँच करोड रुपैयाँ पुगेको छ। पुस्तकालयमा नेपाली, अंग्रेजीलगायत विभिन्न भाषाका २४ हजार ९२४ पुस्तक तथा १३ हजार ७६२ वटा पत्रपत्रिका संग्रहित रहेका छन्।
ज्ञान, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय पुस्तकालयले जिल्लामा अध्ययन–अनुसन्धान र सिर्जनात्मक गतिविधिको केन्द्रका रूपमा आफ्नो भूमिका विस्तार गर्दै आएको छ।


