एमालेका कोशी प्रदेश सदस्य राई सहित विभिन्न दलका नेता–कार्यकर्ता श्रम संस्कृति पार्टीमा प्रवेश
धनकुटा । श्रम संस्कृति पार्टीले धनकुटामा संगठन विस्तार अभियानलाई तीव्र बनाउँदै विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्तालाई पार्टीमा भित्र्याउने अभियानलाई पनि निरन्तरता दिएको छ।
यसैक्रममा नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य तथा सहिदभूमि गाउँपालिका कार्यपालिका सदस्य प्रकाश राई श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। आइतबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष हर्क साम्पाङले उनलाई सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका हुन्।
सोही अवसरमा सहिदभूमिका जनक राई पनि श्रम संस्कृति पार्टीमा आबद्ध भएका छन्।
यस्तै, नेपाली कांग्रेस परित्याग गरी डेनी राई, सिताराम राई, सगुन राई, नकुल राई, भूमिका राई, सन्देश राई, विजय राई र कुशल राई पनि श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। पार्टी नेतृ अञ्जना ताम्लीका अनुसार उनीहरूलाई औपचारिक रूपमा सदस्यता प्रदान गरिएको हो।
त्यसैगरी नेपाली कांग्रेसकी कोशी प्रदेश समिति सदस्य अञ्जना राई पनि श्रम संस्कृति पार्टीमा प्रवेश गरेकी छन्। उनी सुनसरी जिल्लाकी हुन्।
श्रम संस्कृति पार्टीले पछिल्लो समय कोशी प्रदेशमा संगठन विस्तारलाई प्राथमिकतामा राख्दै विभिन्न दलका नेता तथा कार्यकर्तालाई पार्टीमा भित्र्याउने अभियान सञ्चालन गरिरहेको छ। केही समयअघि नेपाली कांग्रेसकी पूर्वसंविधानसभा सदस्य अञ्जना ताम्ली, कांग्रेस कोशी प्रदेश सदस्य मीना राईसहित करिब २५० जना श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए।


