रास्वपा सांसद पौडेलमाथि कालो मसी प्रहार, घटनामा संलग्नको खोजी तीव्र
सञ्जय मिश्रा
,
रौतहट, ८ साउन। रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि बिहीबार राति कालो मसी प्रहार गरिएको छ।
गढीमाई नगरपालिका–७, पर्सामा आयोजित ‘जनतासँग भेटघाट’ कार्यक्रम सम्पन्न गरेर फर्किने क्रममा उनीमाथि उक्त घटना भएको हो।
बिहीबार राति करिब ८ बजेदेखि सवा ८ बजेको बीचमा कार्यक्रमस्थलबाट बाहिरिने क्रममा पछाडिबाट आएका एक व्यक्तिले आत्मीयता देखाउँदै अँगालो हाल्ने बहानामा सांसद पौडेलमाथि कालो मसी प्रहार गरी फरार भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
स्थानीयका अनुसार घटनास्थलमा रहेका केही व्यक्तिको हातमा रातो झण्डा र पर्चा देखिएको थियो। उनीहरूले आफूहरू ‘मधेश मुक्ति अभियान’सँग आबद्ध रहेको संकेत दिएको दाबी गरिएको छ। यद्यपि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन।
घटनालगत्तै सांसदका सहयोगी र स्थानीय बासिन्दाले संलग्न व्यक्तिहरूलाई पछ्याउने प्रयास गरेका थिए। तर अँध्यारोको फाइदा उठाउँदै उनीहरू घटनास्थलबाट भाग्न सफल भएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजालले सांसद पौडेलमाथि कालोमोसो नदलिएको, पछाडिबाट अपरिचित व्यक्तिले कालो मसी प्रहार गरेर फरार भएको बताएका छन्।
एसपी रिजालका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको छ र घटनाबारे थप अनुसन्धान जारी रहेको छ।


