रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्न ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।
पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार आगामी साउन २५ गतेदेखि केन्द्रीय कार्यालय ‘घण्टीघर’बाट अभियान सुरु गरिने सहमहामन्त्री हरि ढकालले जानकारी दिए।
उनका अनुसार अभियानमार्फत नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्ष रूपमा सुन्ने र आवश्यक समन्वय तथा सहजीकरण गर्ने व्यवस्था मिलाइनेछ।
अभियानलाई प्रभावकारी बनाउन प्रत्येक दिन पार्टीका केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यहरूमध्ये दुई जनाको नियमित उपस्थिति अनिवार्य गरिएको छ। साथै, हरेक दिन कम्तीमा एक जना प्रतिनिधिसभा सदस्यको उपस्थिति सुनिश्चित गरिने ढकालले बताए।
रास्वपाले यस अभियानमार्फत नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको आवाजलाई पार्टीको नीति तथा गतिविधिसँग जोड्ने लक्ष्य लिएको जनाएको छ।



