श्रम संस्कृति पार्टीको कोशी प्रदेश संगठन विभाग प्रमुखमा लाक्पा तामाङ सर्वसम्मत
सुनसरी । श्रम संस्कृति पार्टीको प्रदेश नं. १ को तीनदिने विस्तारित बैठकले लाक्पा तामाङलाई प्रदेश संगठन विभाग प्रमुखमा सर्वसम्मत चयन गरेको छ।
बैठकबाट आर्थिक समितिमा प्रणाम राई, अनुशासन समितिमा मोहन छिलिङ राई, युवा तथा खेलकुद विभागमा निशान किराती राई, प्रशिक्षण विभागमा सुवास घिमिरे तथा श्रम विभागमा धन वनेम लिम्बू सर्वसम्मत चयन भएका छन्।
विस्तारित बैठकमा प्रदेशका १४ वटै जिल्लाका जिल्ला अध्यक्षहरूले आ–आफ्ना जिल्लाका समस्या, चुनौती तथा संगठनात्मक कार्यप्रगतिबारे विवरण प्रस्तुत गरेका थिए।
प्रदेश उपाध्यक्षसमेत रहेका तामाङले पार्टीले आत्मनिर्णयको अधिकारसहितको संघीयताको एजेण्डा अघि बढाउनुपर्ने धारणा राखे। नाम मात्रको संघीयता आवश्यक नभएको भन्दै उनले त्यस्तो संघीयता कायम राख्नुभन्दा खारेज गर्नु उचित हुने तर्क गरे।
बैठकमा तामाङले आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउन आवश्यक रणनीतिक योजनासमेत प्रस्तुत गरेका थिए। पार्टीको संगठन विस्तार, जनसम्बन्ध मजबुत बनाउने तथा निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने विषयमा समेत छलफल भएको बताइएको छ।

