तिब्बतवाट आएको बाढीका कारण ४२ किमी सडक ध्वस्त, मलेखुको पुल पनि बगायो
नुवाकोट, १० भदौं । तिब्बतवाट रसुवा हुदैँ नेपाल छिरेको बाढीले ४२ किमी सडक बगाएको छ।
नुवाकोटको बेत्रावतीदेखि रसुवागढी नाका जोड्ने कम्तिमा ४२ किमी सडक बाढीले क्षति गरेको छ ।
सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभराज न्यौपानेका अनुसार यो बिवरण प्रारम्भिक हो । ‘बेत्रावतीदेखि रसुवागढी नाकासम्मको ४२ किलोमिटर सडक बाढीले पूर्ण रुपमा क्षति गरेको जानकारी पाएका छौं,त्यस क्षेत्रका ठाउँ–ठाउँमा रहेका पक्की पुल पनि बाढीले बगाएको छ,’ उनले भने, ‘थप क्षतिको विवरण लिइरहेका छौं।’
स्याफ्रुबेंसीबाट नाकातर्फको १६ किलोमिटर सडकको अवस्थाका बारेमा पनि जानकारी लिने काम भइरहेको छ । त्रिशुली पारी धादिङ जोडने मलेखु पुल पनि बगाएको उनले जानकारी दिएका छन ।
त्यसैगरी स्याफ्रुवेसीको निर्माणाधिन सडक खण्ड पनि बगाएको उनले जानकारी दिए । चीन सरकारको अनुदानमा १६ किलोमिटर सडक दुई लेनमा स्तरोन्नति कार्य जारी राखिएको थियो, आजको भिषण बाढीले उक्त सडक खण्ड बाढीले बगाएको सडक विभागले जनाएको छ ।

