विपदमा धैर्य र संयम राख्न प्रधानमन्त्री बालेनको आग्रह
काठमाडौ । प्रधानमन्त्री बालेनले देशले भोगिरहेको विपत्तिको घडीमा सरकार उद्धार तथा राहत कार्यमा तीव्र रूपमा जुटिरहेको बताएका छन्। उनले विपद् प्रभावित क्षेत्रमा उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरिएको जानकारी दिँदै प्रभावित नागरिकलाई धैर्य र संयम राख्न आग्रह गरेका छन्।
प्रधानमन्त्रीका अनुसार बिहीबार बिहान ६ः३० बजेदेखि उद्धारका लागि उडान सुरु भएको छ। अहिलेसम्म १५ भन्दा बढी उडान भइसकेका छन् भने थप हेलिकोप्टरहरू तयारी अवस्थामा राखिएका छन्।
नेपाली सेनाले टिमुरेमा सञ्चालन गरेको उद्धार अभियानमार्फत ११६ जनालाई सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक छन्। त्यस्तै, टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत उद्धार गरिएको प्रधानमन्त्रीले बताएका छन्।
प्रभावित क्षेत्रमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम–ढुङ्गा काट्ने मेसिनलगायत अत्यावश्यक सामग्री पुर्याउने काम भइरहेको छ। छिट्टै प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था गरिने बताइएको छ।
नुवाकोटमा अस्थायी शिविर तयार गरी खाना तथा पानीको व्यवस्था गरिएको छ। ड्रोन सर्वेमार्फत प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी संकलन गर्ने काम पनि अन्तिम चरणमा पुगेको प्रधानमन्त्रीले बताएका छन्।
उनका अनुसार हेलिकोप्टरबाट उद्धार गर्दा सुरुमा सिकिस्त बिरामी, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई प्राथमिकता दिइनेछ।
प्रधानमन्त्री बालेनले विपद्को सामना गर्न सबैलाई एकजुट हुन आग्रह गर्दै भनेका छन्, “आशा र विश्वासका साथ हामी सबै एक भएर यो विपद्को डटेर सामना गर्नुपर्नेछ।” उनले उद्धार तथा राहत कार्यमा सहयोग गर्ने सबैप्रति धन्यवाद समेत व्यक्त गरेका छन्।


