विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छन् : प्रधानमन्त्री शाह
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले विपत्ति र चुनौतीहरूले मानिसको धैर्य र कर्मको परीक्षा लिने बताएका छन्।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले कठिन परिस्थितिमा पनि आफ्नो कर्तव्यप्रति पूर्ण निष्ठाका साथ अघि बढ्नुपर्ने बताएका हुन्।
उनले भनेका छन्, ‘विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन्। यस्तो बेला पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग हो।’
प्रधानमन्त्री शाहले सबैलाई कर्तव्यको पथमा दृढतापूर्वक टिकिरहने धैर्य, शक्ति र आत्मविश्वास प्राप्त होस् भन्दै श्रीकृष्ण जन्माष्टमीको शुभकामना व्यक्त गरेका छन्।


