पाँचथरमा इन्सास राइफलको गोली, बारुद र खुकुरी सहित एक जना पक्राउ
पाँचथर । धारिलो हतियार खुकुरी, इन्सास राइफलको गोली र बारुदजस्तो देखिने पदार्थसहित पाँचथरमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा फिदिम नगरपालिका–६ शिवाका ३२ वर्षीय सुसन तुम्रोक रहेका छन्।
प्रहरीका अनुसार असोज ४ गते कुम्मायक गाउँपालिका–१ यासोक बजारमा तुम्रोकले खुकुरी देखाएर धाकधम्की दिइरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
खोजतलास गर्ने क्रममा उनलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा दापसहितको दुई थान खुकुरी, इन्सास राइफलको एक थान लाइभ राउन्ड र बारुदजस्तो देखिने २७.७१ ग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याई जिल्ला अदालत फिदिमबाट खरखजाना तथा विस्फोटक पदार्थसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।


