इटहरीका सबै विद्यालय दुई दिन बन्द
इटहरी । प्रतिकूल मौसमका कारण इटहरी उपमहानगरपालिकाभित्र सञ्चालित सम्पूर्ण विद्यालय दुई दिन बन्द हुने भएका छन्।
इटहरी उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाले सूचना जारी गर्दै असोज ८ र ९ गते दुई दिन सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ।
जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सम्बन्धित विज्ञहरूको पूर्वानुमानअनुसार देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको महाशाखाले जनाएको छ।
विद्यालय विदा मिनपचास विदाबाट कट्टा हुने गरी दिइएको सूचनामा उल्लेख छ।
महाशाखाले शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई मौसमको प्रतिकूल अवस्थालाई ध्यान दिँदै सुरक्षित रहन आग्रह गरेको छ।


