सुनसरीमा अवैध पाउडर दूध बोकेको पिकअप सहित दुई जना पक्राउ
सुनसरी, असोज ९ गते । सुनसरीको इनरुवा नगरपालिका–३ डाँडाटोलबाट अवैध रूपमा भन्सार छली ल्याइएको पाउडर दूध बोकेको पिकअप गाडीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
असोज ८ गते राति जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्रदेश १–०१–००२ च १८६४ नम्बरको पिकअप गाडीमा ३ सय ३० किलोग्राम पाउडर दूध फेला पारेको हो। बरामद पाउडर दूधको मूल्य करिब २ लाख ६४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीले पाउडर दूध ओसारपसारमा संलग्न चालक सुनसरीको देवानगञ्ज–२ का ४३ वर्षीय ज्ञानदेव मेहता र इटहरी–५ का ४० वर्षीय अर्जुन खड्कालाई नियन्त्रणमा लिएको छ।
बरामद पाउडर दूध, पिकअप गाडी र नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाइएको प्रहरीले जनाएको छ।


