कोशीमा सेफ्टी ट्याङ्कीमा पसेर अचेत व्यक्तिको उद्धार गर्ने प्रहरी निरीक्षक रिमाल भदौको सर्वोत्कृष्ट प्रहरी
विराटनगर, असोज ९ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत प्रहरी निरीक्षक दिवश रिमाललाई २०८३ साल भदौ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरेको छ।
प्रहरी निरीक्षक रिमालले पदीय कर्तव्य निर्वाहका क्रममा उच्च मनोबल, व्यावसायिकता, अनुशासन र कर्तव्यनिष्ठा प्रदर्शन गरेको भन्दै उनलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
भदौ ५ गते इलाम नगरपालिका–७, कुलधारास्थित कुवेरप्रसाद शर्माको घरमा रहेको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा सोही स्थानका ४७ वर्षीय रामसी डोम ट्याङ्कीभित्र अचेत अवस्थामा रहेको सूचना प्राप्त भएको थियो।
सूचना पाएलगत्तै प्रहरी निरीक्षक रिमालसहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। त्यस क्रममा प्रहरी निरीक्षक रिमालले जोखिम मोलेर सेफ्टी ट्याङ्कीभित्र प्रवेश गरी अचेत अवस्थामा रहेका डोमलाई सकुशल उद्धार गरेका थिए।
उक्त कार्यका साथै नागरिकलाई सुरक्षाको अनुभूति गराउने, प्रहरी संगठनको गरिमा अभिवृद्धि गर्ने तथा कर्तव्य निर्वाहमा उच्च व्यावसायिकता प्रदर्शन गरेको भन्दै कोशी प्रदेश प्रहरी कार्यालयले उनको कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै भदौ महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरेको जनाएको छ।


