विराटनगर स्थित आयल निगम अगाडि दुर्घटनामा परेको स्कार्पियोबाट ३९८ किलो गाँजा बरामद, चालक फरार
विराटनगर । विराटनगरस्थित आयल निगम अगाडि दुर्घटनामा परेको स्कार्पियो गाडीबाट प्रहरीले ३९८ किलो गाँजा बरामद गरेको छ।
इटहरीतर्फबाट विराटनगर आउँदै गरेको को १ च ७३९९ नम्बरको स्कार्पियो शनिबार राति करिब १० बजे आयल निगम अगाडि अर्को कारसँग ठोक्किएको थियो।
दुर्घटनापछि प्रहरीले स्कार्पियोको चेकजाँच गर्ने क्रममा १३ वटा प्याकेटमा राखिएको अवस्थामा ३९८ किलो गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए।
गाँजा बरामद भए पनि स्कार्पियोका चालक भने फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीले फरार चालकको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको छ।


