धनकुटा अस्पतालमा निःशुल्क बृहत् शल्यक्रिया शिविर सुरु, १ हजार ५०० भन्दा बढीलाई सेवा दिने लक्ष्य
धनकुटा,९ कार्तिक । धनकुटा जिल्ला अस्पतालमा अलोहा मेडिकल मिसन, हवाई, अमेरिकाको प्राविधिक सहयोगमा निःशुल्क बृहत् शल्यक्रिया स्वास्थ्य शिविर सुरु भएको छ। आर्थिक अभावका कारण उपचार तथा शल्यक्रिया गराउन नसकेका बिरामीलाई लक्षित गरी सोमबारदेखि शिविर सञ्चालन गरिएको हो।
शिविरको प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राई, कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुली, प्रदेशसभा सदस्य निरन राई, संविधानसभा सदस्य मनोहरनारायण श्रेष्ठ, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र अलोहा मेडिकल मिसनका टोली नेता डा क्रिस्टोफर क्लेमले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका थिए। आयोजकका अनुसार कात्तिक ९ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने शिविरमा स्त्रीरोग, हर्निया, हाइड्रोसिल, पायल्स, पित्तथैलीको पत्थरीलगायतका समस्याको शल्यक्रिया गरिनेछ। यसका साथै घाँटीसम्बन्धी समस्याको उपचार सेवा पनि प्रदान गरिनेछ। शिविरमा अमेरिकाबाट डा.क्रिस्टोफर क्लेम र डा. विकास गुप्ताको संयोजकत्वमा आएको विशेषज्ञ चिकित्सकको टोली तथा नेपाली स्वास्थ्यकर्मीले बिरामीको उपचार गर्नेछन्।
शिविर सञ्चालन तथा व्यवस्थापन मूल समितिका संयोजक रोशेष श्रेष्ठका अनुसार शिविरबाट मेजर अप्रेसन, सामान्य अप्रेसन तथा स्वास्थ्य परीक्षण (स्क्रिनिङ) गरी १ हजार ५०० भन्दा बढी बिरामीलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको प्रचार प्रसार समिति संयोजक विदुर खवासले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका बिरामीलाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क उपचार तथा शल्यक्रिया सेवा उपलब्ध गराउनु शिविरको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।
अलोहा मेडिकल मिसनले यसअघि पनि धनकुटामा स्वास्थ्य तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको छ। यस्ता शिविरले आर्थिक अभावका कारण उपचारबाट वञ्चित बिरामीलाई विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको संयोजक खवासले बताए ।


