अटो दुर्घटना हुँदा ६ जना घाइते, एक जनाको अवस्था गम्भीर
पाल्पा । पाल्पाको रैनादेवीछहरा गाउँपालिका–३ बल्गास्थित भित्री कच्ची सडकमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
प्रहरीका अनुसार बल्गाबाट कटौजेतर्फ आउँदै गरेको नम्बर नखुलेको तीनपाङ्ग्रे अटो अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको हो। अटोमा चालकसहित आठ जना सवार थिए।
दुर्घटनामा अटो चालक २४ वर्षीय फर्सबहादुर नेपाली, २५ वर्षीया बसन्ती बराल, ३२ वर्षीया हरिकला सारु र २५ वर्षीया मञ्जु दर्लामी घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको छ।
त्यस्तै, ३८ वर्षीया यमकला खाम्चाको अवस्था गम्भीर रहेको छ भने उनका ६ वर्षीय छोरा ईजन खाम्चाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते सबैलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल पठाइएको छ। घटनाबारे प्रहरीले उद्धार तथा थप अनुसन्धान गरिरहेको जनाएको छ।


