सुनसरीमा भरुवा बन्दुक सहित ५० वर्षीय राई पक्राउ
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बान्द्रेटोलबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–१ बान्द्रेटोल निवासी ५० वर्षीय मंगल सिंह राई रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राईको घरमा हातहतियार लुकाइछिपाइ राखिएको विशेष सूचना प्राप्त भएपछि सोमबार साँझ करिब ६ः१५ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चतराबाट संयुक्त प्रहरी टोली खटिएको थियो।
प्रहरी टोलीले राईको घरकोठामा कानुनबमोजिम खानतलासी गर्दा भान्सा कोठाको सिलिङमा लुकाइछिपाइ राखिएको अवस्थामा एक थान एकनाले भरुवा बन्दुक फेला पारेको थियो।
उक्त बन्दुक बरामद गरी राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।


