प्रहरीको ‘घुमुवा’ हुँ भन्दै रकम असुल्ने बिचौलिया पर्सामा पक्राउ
सञ्जय मिश्रा/रौतहट । सुरक्षाकर्मीको घुमुवा हुँ भन्दै भन्सार छलीका सामान सेटिङमा पास गराइदिने प्रलोभन देखाएर रकम असुली गर्ने एक जना बिचौलिया पर्सामा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–५ निवासी ५१ वर्षीय अशोक कुमार वर्णवाल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार वर्णवालले आफू नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको ‘घुमुवा’ भएको र सुरक्षाकर्मीसँग राम्रो चिनजान रहेको भन्दै विभिन्न व्यक्तिलाई प्रभावमा पारेर रकम असुल्ने गरेको सूचना प्राप्त भएको थियो।
उनले भन्सार छली तथा चोरी–तस्करीका सामान सजिलै सेटिङ मिलाएर पास गराइदिने र रकम नदिने व्यक्तिका सामान पक्राउ गराइदिने भन्दै बिचौलियाको काम गर्ने गरेको प्रहरीको भनाइ छ।
प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वर्णवाललाई कात्तिक ६ गते पोखरिया नगरपालिका–५ बाट पक्राउ गरेको डीएसपी मल्लले आज विज्ञप्ति मार्फत जानकारी दिएका छन्।
पक्राउ परेका वर्णवालमाथि कानुनबमोजिम म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसैगरी, वर्णवालले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको सेवामा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको विषयमा समेत प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


