मोरङ र सुनसरीबाट लागूऔषध गाँजा र ब्राउन सुगर सहित ३ जना पक्राउ
विराटनगर । मोरङ र सुनसरीका विभिन्न स्थानबाट लागूऔषध गाँजा र ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्।
मोरङको जहदा गाउँपालिका–७ स्थित झुलुङ्गे पुलमा कात्तिक ९ गते सिटी रिक्सा जाँच गर्ने क्रममा २४ वर्षीय देव मण्डल २८ किलो ४५० ग्राम गाँजासहित पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।
त्यस्तै, सुनसरीमा अस्थायी प्रहरी चौकी इनरुवाबाट खटिएको प्रहरी टोलीले २६ वर्षीय विशाल अछामी र ३८ वर्षीय वीरु लिम्बूलाई ४ ग्राम ७८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


