विलेन्द्रसँग देउवा यसर्थ बमबम !

काठमाडौं, ५ फागुन । ‘यो विमल एक्लै हिँड्न खोज्दैछ । आफू हिरो बनेर मलाई खराब देखाउन खोज्दैछ । यसरी कहाँ हुन्छ भनेको ?’
गृहमन्त्री विमलेन्द्र निधीले सकेसम्म निर्देशन उल्लंघन गर्न चाहेको, निर्देशन मानिहाले पनि आफूलाई बद्नाम गरेर चोख्खिन खोजेको भन्दै २८ गते साँझ सहयोगीमाझ यसो भनेका शेरबहादुर देउवा २९ को बिहानै बालुवाटार छिरे ।
कारण थियो, उपसभापतिसमेत बनाउन ठिक्क पारिएका विमलेन्द्रप्रतिको विश्वास घट्नु । विषय थियो, प्रहरी महानिरीक्षक नियुक्ति । ‘२६ गतेदेखि भनेको भन्यै’छु । मलाई पन िमिल्दैन, सकिँदैन भनेर हुन्छ ?’ कर्कश स्वरमा देउवा पड्किरहँदा तल्लो तलामा उनको सचिवालयमा बसेका केही कार्यकर्ता चूपचाप यी कुरा सुनिरहेका थिए । बुढानिलकण्ठस्थित देउवा निवासको दृष्य हो यो ।
त्यसो त प्रधानमन्त्री पुष्पकमल दाहाल पनि बरीयता मिचेर महानिरीक्षक नियुक्तिको पक्षमा थिएनन् । तर, सत्तासाझेदार दलको सभापति आफूले अगाडि बसेर, त्यहीँबाट गृहसचिवलाई टिप्पणी लेख्ने आदेश दिन लगाएर धर्ना कसेपछि उनको पनि केही चलेन ।
भनिन्छ प्रचण्ड आफै नवराज सिलवालको पक्षमा भएका होइनन् । विमलेन्द्र निधिमार्फत नै नवराज सिलवाललाई महानिरीक्षक बनाउनु पर्ने पक्षमा गएका हुन् ।
‘लुज टकिङ’मा माहिर मानिने पुष्पकमल दाहाल शायद यो कुरा देउवालाई सुनाए क्यार । शनिबार बालुवाटारबाट फर्कदा पनि विमलेन्द्रसँग आगो नै थिए । आक्रोशको विषय थियो अह्राएको काम नगर्ने ।


