मालपोतका खरदार छैनन् सचिव भन्दा कम, यिनलाई नियम लगाउने कस्को पुग्ला दम ?
काठमाडौं । भूमिसुधार मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले काठमाडौँ उपत्यकामा लगातार ३ वर्षदेखि कार्यरत कर्मचारीलाई उपत्यका बाहिर पठाउन खोजे पनि सकिरहेका छैनन् । उनले सरुवा गर्न दिएको निर्देशन नै कार्यान्वयन नहुने गरेको पाइएको छ ।
उपत्यका भित्रका मालपोत कार्यालयका २६ र नापीका ८१ कर्मचारीको काजसरुवा भएको वर्षौ भइसक्यो तर पनि कर्मचारी भने सरुवा भएका कार्यालयमा गएका छैनन्, मन्त्रालयका एक सहसचिबले आर्थिकन्युज डटकमलाई बताए । २०७३ भदौमा नै सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेका मालपोत कार्यालयका कर्मचारीहरूले आजसम्म पनि रमाना लिएका छैनन् ।
मालपोत कार्यालय चावहिलका खरिदार लक्ष्मण बस्नेतलाई सामान्य प्रशासन मन्त्रालयले २०७३ भदौ अन्तिममा सरुवा गरे पनि उनी अहिलेसम्म उनले चावहिल मालपोत छोडेका छैनन् । सरुवा भएको पाँच महिना सम्म रमाना नबुझ्दा पनि उनलाई प्रश्न गर्ने आँट कसैको छैन । उनको सरुवा हुलाक कार्यालयमा भएको छ । खरिदार बस्नेत चावहिल मालपोतमा कार्यरत रहेको १० वर्षभन्दा बढी भइसकेको छ । काजको समेत हिसाब गर्दा उनी कार्यरत रहेको १२ वर्ष भइसकेको छ । निजामती सेवा ऐनमा सरुवा भएको २१ दिनभित्र रमाना बुझी खटाएको कार्यालयमा हाजिर हुनुपर्ने व्यवस्था छ ।

लक्ष्मण बस्नेतसँगै सरुवा भएका नासु थमनप्रसाद श्रेष्ठ पनि दैनिक मालपोत कार्यालय चावहिल वारिपरिनै भेटिने गरेका छन् । मालपोत कार्यालय ललितपुरका कम्प्युटर अप्रेटर गोविन्द पुरी पनि सामान्यले सरुवा गरेको कार्यालयमा हाजिर हुन गएका छैनन् ।
एक वर्षअघि मोरङको रंगेलीमा सरुवा भएका सुधीर गुप्तालाई डिल्लीबजारमा ल्याइएको छ । उनी एक वर्षअघिसम्म कलंकी नापीका प्रमुख थिए । कलंकीमा प्रमुख नापी अधिकृतको दरबन्दी राखिएपछि गतवर्षमात्र उनको रंगेली सरुवा भएको थियो । सरुवा भएको कम्तीमा २ वर्ष सोहि कार्यालयमा बस्नुपर्नेमा व्यबस्था ऐनमा रहेको छ । गुप्ता करिब १० वर्ष उपत्यकामा बसी गतवर्षमात्र रंगेलीमा सरुवा भएका थिए । तर, उनले ऐनलाई धोति लगाउन वर्ष दिनपनि लगाएनन् ।
त्यस्तै, सर्भेक्षकहरू राजेश गुप्ता र राजेश झा पनि सरुवा भएको एक वर्षमै पुनः उपत्यका भित्रिएका छन् । यो आर्थिक वर्षदेखि खुलेको टोखाको कार्यालयमा अमिनको ५ जनाको दरबन्दी भए पनि त्यहाँ एक जना पनि छैनन् ।
– यो समाचार हामीलाई आर्थिक न्यूजबाट ईमेलमा प्राप्त भएको हो ।


