एमालेको शक्ति प्रदर्शन, मोर्चाद्वारा यात्रीबसमा आगजनी, नेपालगन्जमा गोली चल्यो
नेपालगन्ज, चैत १ । बाँकेमा मधेसी मोर्चाका कार्यकर्ताले एउटा यात्रीबाहक बसमा आगजनी गरेका छन् ।
एमालेको मेची–महाकाली अभियानअन्तर्गत् मंगलबार नेपालगन्जमा हुने आमसभाविरुद्ध बन्द आह्वान गरेको मोर्चाका कार्यकर्ताले सभामा जाँदै गरेका सर्वसाधारण चढेको बसमा आगजनी गरेका हुन् ।
आगजनीबाट भे१ख २०४२ नम्बरको बसको भित्री भाग पूरै जलेको जनाइएको छ ।
गुलरिया–नेपालगन्ज सडकखन्डको सोनापुर भन्ने स्थानमा मोर्चाका कार्यकर्ताले सभामा हिँडेकाहरुलाई अवरोधसमेत गरेपछि त्यहाँ झडपसमेत भएको छ ।
झडप रोक्न प्रहरीले केही सेल अश्रुग्यास प्रहार र र दुई राउन्ड हवाई फायर गरेको छ ।
अवरोधमा उत्रिएका मोर्चाका कार्यकर्ताले प्रहरीको हतियारसमेत खोस्न खोजेपछि हवाई फायर गरेको प्रहरीले जनाएको छ ।
मोर्चाले बाँकेको सोनपुर र उढरापुरमा सभाका सहभागी तथा एमाले कार्यकर्ता लिन गएका अन्य सवारी–साधनलाईसमेत रोकेका छन् ।
त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने मोर्चाको अवरोधकाबीच बाँकेका विभिन्न स्थानबाट निकालिएका जुलुसहरु आमसभास्थलमा पुगेका छन् ।
नेपालगन्जको रामलीला मैदानमा आयोजना गरिएको सभास्थल भने सडक डिभिजन कार्यालय सारिएको छ ।
सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


