‘जनताका छोराछोरी मार्ने, आफ्नालाई चाहिँ मेयर बनाउनुपर्ने ?’ : ओली

एमालेको नेतृत्व भयो भने देश समृद्ध बन्ने ओलीको जिकिर

चितवन, वैशाख २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धको नाममा जनताका छोराछोरी मार्न लगाएका ‘प्रचण्ड’ अहिले आफ्नी छोरीलाई मेयर बनाउन लागिपरेको आरोप लगाएका छन् । चितवनको भरतपुरमा बिहीबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले ‘जनताका छोराछोरी मार्ने तर आफ्ना छोराछोरीलाई चाहिँ मेयर बनाउनुपर्ने ?’ भन्ने व्यंग्यात्मक प्रश्न गरे ।

सत्ता गठबन्धनको नाममा शेरबहादुर देउवाले आफ्नो विवेकलाई बन्धकी बनाएको आरोप पनि उनले लगाए । कांग्रेस–माओवादीप्रति निकै आक्रामकरुपमा प्रस्तुत् भएका ओलीले ‘कांग्रेसले माओवादीलाई नाम्लो लगाएर बोक्न खोजे पनि चितवनका जनताले बाँदरमुढेजस्ता घटना बिर्सेका छैनन्–भने ।

कांग्रेसको निर्णयबाट कांग्रेस कार्यकर्तालाई परेको पीडा आफूले बुझेको भन्दै ओलीले कांग्रेस कार्यकर्तालाई झोक्राएर नबस्न आग्रह गरे । चुनावीसभालाई एमाले महासचिव ईश्वर पोखरेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, भरतपुर महानगरका एमाले उम्मेदवार देवी ज्ञवाली, उपमेयरका उम्मेदवार दिब्या शर्मा, जिल्लासचिव पार्वती रावललगायतले सम्बोधन गरेका थिए । एमाले अध्यक्ष ओलीले बिहीबारै पूर्वी चितवनको रत्ननगर, खैरहनी र राप्तीमा आयोजित आमसभाहरुलाई पनि सम्बोधन गरेका छन् ।

एमालेको नेतृत्व भयो भने देश समृद्ध बन्ने ओलीको जिकिर

नेकपा( एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै क्षेत्रमा एमालेको नेतृत्व भयो भने मात्रै देश समृद्ध बन्ने बताउनुभएको छ ।

एमाले भरतपुर महानगर कमिटीको आयोजनामा आज नारायणगढमा भएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले राष्ट्रिय एकताका पक्षमा र राष्ट्रिय पहरेदारका रुपमा रहेको उहाँले प्रस्ट गर्नुभयो ।

चुनावमा सरकार धाँधली गर्न उद्दत रहेको आरोप लगाउँदै उहाँले प्रजातान्त्रिक मूल्यमान्यता विपरीत धाँधलीका काम भैरहेको जिकिर गर्नुभयो । “जेठ १५ गते बजेट आउने, जेठ १५ भन्दापछि चुनाव गर्नुपर्ने, चुनावी बजेट सस्तो लोकप्रिय बजेट जारी गर्ने, अनि चुनाव गर्ने, यो धाँधली हो कि होइन ?” नेता ओलीले प्रश्न गर्नुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले आफूहरुले चुनावमा निष्पक्षता चाहेको बताउँदै प्रशासन र अदालतलाई आतङ्कमुनि राख्ने प्रयास भइरहेको भनी सरकारको आलोचना गर्नुभयो । अध्यक्ष ओलीले ठाउँ ठाउँमा एमालेका कार्यकर्तामाथि हमला भैरहेको बताउँदै दुःख व्यक्त गर्नुभयो । विभिन्न ठाउँमा विभिन्न व्यक्ति मरिरहेको घटना भए पनि न्याय दिन्छु भन्न नसक्नेलाई काँग्रेसले बोकेको उहाँको आरोप थियो । कार्यक्रम सुरु हुनुअघि भरतपुरको चौबिसकोठीबाट एमाले कार्यकर्ताहरुले बाजागाजासहित पदयात्रा निकालेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।