‘प्रचण्ड’ भन्छन,- कसैले उल्ट्याउनै नसक्ने गरी गणतन्त्र संस्थागत भयो
बाबुराम र विप्लप नेतृत्वको पार्टीबाट झन्डै तीन दर्जन नेता माओवादीमा प्रवेश
काठमाण्डौ, जेष्ठ ११ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनले कसैले उल्ट्याउन नसक्ने गरी संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताएका छन्, कान्तिपुर दैनिकमा समाचार छ ।

बिहीबार बिहान आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त धारणा राखेका हुन् । दाहालले भने, ‘भर्खरै स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ, यसले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ । अब कसैले यो उपलब्धि उल्ट्याउन सक्दैन ।’ उनले परिवर्तनका मुद्दाहरु संस्थागत गर्न र देशको समृद्धिका लागि पार्टी प्रवेशमा सहभागीहरुको ठूलो योगदान रहने बताए । प्रधानमन्त्री दाहालले करिब साढे नौ महिने कार्यकाल सिद्ध्याएर बुधबार पदबाट राजीनामा दिएका थिए ।
कार्यक्रममा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता टिआर खम्बुसहित तीन दर्जन नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार नेता टिआर खम्बु, नयाँ शक्तिका नेताहरु चेतकुमारी गुरुङ, चन्द्र लक्जम्बालगायत केन्द्रीय नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । त्यस्तै, नेकपाका केन्द्रीय नेताहरु वीरेन्द्र राई, प्रकाश राई, धीरज राई, बहुदलकाजी राई, केशर थुलुङ, लक्ष्मीबहादुर बस्नेत, विनोद सुब्बा, जीवन सुनुवार, आशिष पौडेल, देवेन्द्र कार्की, प्रदीप बस्नेत छन् ।
संघीय समाजवादी फोरमका नेताहरु दीपक झा, खबिराज राई, खम्बुवान् राष्ट्रिय मोर्चाका नेताहरु राज्य राई, गोरख राई, गणेश भण्डारी, अनिता तामाङ, सागर दराई, सन्देश राई, अमन राना, मनिषा सुनुवार, विशाल दराई, मोहन राई, सागर राई, अरुण राई, मोनिका राई, देवेन्द्र खवास, मनिषा श्रेष्ठ, इन्द्र सुनुवार पनि माओवादीमा प्रवेश गरे ।


