दाहसंस्कार र काजकिरिया गरिएका भोजपुरका सुवास जिवितै नेपाल आइपुगे

काठमाडौं, जेठ १२ । मृत्यु भइसकेको ठानेर परिवारले दाहसंस्कार र काजकिरिया गरिसकेका भोजपुरको षडानन्द गाउँपालिका २ का सुवास तामाङ शुक्रबार नेपाल आइ पुग्नु भएको छ ।

साउदी अरब पुगेको झण्डै तीन महिना पछि अर्थात २०७२ साल असार २४ गते भएको सडक दुर्घटनामा परी सुवास गम्भीर घाइते हुनुभएको थियो । परिवारलाई पैसा पठाउन जाने क्रममा सुवास सहित पाँच जना नेपाली कामदार दुर्घटनामा परेका थिए ।

तीमध्ये तीन जनाको घटनास्थलमै ज्यान गएको थियो । घाइते दुई जनालाई अस्पताल लगिएको थियो ।
दुर्घटनामा सुवास र वाग्लुङका तेजेन्द्र भण्डारी गम्भीर घाइते भएका थिए । तेजेन्द्र अवैधानिक रुपमा साउदीमा काम गर्नुहुन्थ्यो । घाइते भएपछि दुवै जनाको अनुहार चिन्न नसकिने भएको थियो । बोल्न पनि नसक्ने अवस्थामा थिए ।

गम्भीर घाइतेमध्ये तेजेन्द्रको अस्पतालमा पुर्‍याएको भोलीपल्ट ज्यान गएको थियो । तेजेन्द्रको ज्यान गए पनि सुवासको मृत्यु भएको ठानिएको थियो । अस्पतालले पनि सुवासको मृत्यु भएको भन्ने जानकारी कम्पनीलाई गराएको थियो ।

तेजेन्द्रको काजकिरिया सुवासका परिवारले गरे
शव पहिचान हुन नसकेपछि सोधपुछका आधारमा सुवास तामाङको मृत्यु भएको भन्ने निष्कर्षमा अस्पताल पुगेको थियो । त्यसै अनुसार प्रहरी र मेडिकल रिर्पोट सुवास तामाङको नाममा बनाइएको थियो ।

त्यही कागजपत्रको आधारमा साउदी स्थित नेपाली दूतावासले शव नेपाल पठाउन ‘नो अब्जेक्सन सर्टिफिकेट’ एनओसी दिएको थियो । साउदी सरकारले दिएको कागजपत्रलाई आधिकारीक मान्दै दूतावासले एनओसी दिएको हो ।

र नेपालमा सुवास तामाङको परिवारले शव बुझेर दाह संस्कार र काजकिरिया गरे । साउदीबाट पठाइएको कागजपत्रका आधारमा परिवारले वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र बीमा कम्पनीबाट आर्थिक सहायता समेत लिइसकेका छन् ।

अस्पताल भर्ना भएको ३/४ महिना पछि जिवित भनिएका तेजेन्द्र भण्डारीको अनुहार निको हुँदै थियो । अनुहार चिनिने र बोल्न थालेपछि कम्पनीमा काम गर्ने नेपालीहरुले जिवित भएका बिरामी तेजेन्द्र नभई सुवास भएको पत्ता लगाएका थिए । उनीहरुले कम्पनी, नेपाली दूतावास र परिवारलाई समेत यस बारेमा जानकारी गराएका थिए ।

यसरी नेपाल फर्काइयो
सुवास जिवितै रहेको जानकारी पाएपछि परिवारले रामेछापको मन्थलीमा रहेको सुरक्षित आप्रवासन सूचना केन्द्रमा निवदेन दिएका थिए ।
निवेदनको आधारमा सुवासलाई नेपाल फर्काउन र तेजेन्द्रको परिवारलाई न्याय दिलाउन सहयोग गर्नका लागि काठमाडौंमा रहेको सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्स (सिएमआइआर)मा घटनाबारे जानकारी पठाइएको थियो ।

त्यसैका आधारमा साउदीमा रहेको नेपाली दूतावास मार्फत सुवासलाई नेपाल फर्काउन पहल गरिएको सिएमआइआरका कार्यक्रम अधिकृत बसन्त घिमिरले जानकारी दिनुभयो । साउदीको कम्पनीसँग क्षतिपूर्तिका लागि सम्झौता गर्न, कागजपत्र तयार गर्न समय लागेकाले सुवासलाई फर्काउन ढिला भएको उहाँले बताउनु भयो ।

तेजेन्द्रको परिवारले झण्डै साढे चार लाख क्षतिपूर्ति पाउने
सुवासको परिवारले दाहसंस्कार गरेका तेजेन्द्रको परिवारले १५ हजार रियाल (झण्डै साढे चार लाख रुपैयाँ) क्षतिपूर्ति पाउने भएका छन् ।
साउदी अरबस्थित हुण्डाई कम्पनीले मृतकका परिवारलाई आर्थिक सहायता गर्ने भएको हो । साउदीस्थित नेपाली दूतावासले कम्पनीसँग समन्वय गरेर मृतकका परिवारलाई क्षतिपूर्ति दिलाएको हो रीतु थेबे/उज्यालो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।