‘चुनावको मुखमा निहुँ खोजेर भाग्न मिल्दैन’

वर्तमान राजनीतिक अवस्था, मधेस आन्दोलन, स्थानीय तहको निर्वाचनलगायत विषयमा नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग राजधानी दैनिकका सुभाष साहले गरेको कुराकानीको सम्पादित अंश:

पछिल्लो राजनीतिक घटनाक्रमलाई तपाईले कसरी हेर्नुभएको छ ?
अहिले नेपालको राजनीति आफ्नै हिसाबले अगाडि बढिरहेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा नयाँ सरकार गठन भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हटाइसकेपछि प्रचण्डजीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीसँग प्रधानमन्त्री बन्ने सहमति गर्नुभएको हो । त्यो सहमतिअनुसार उहाँ प्रधानमन्त्री हुनुभयो । प्रचण्डजीपछि सोही पदमा (९ महिनापछि) अर्थात् स्थानीय निर्वाचनपछि देउवाजीलाई दिने÷ सुम्पिने सहमति गर्नुभएको थियो । त्यो सहमति स्वरूप नै अहिले नयाँ सरकार बनेको छ । एमाले प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गरिरहेको छ । अहिले कांग्रेस र माओवादीको यो गठबन्धन त्यति सहज देखिँदैन, स्वस्थ देखिँदैन, स्वाभाविक देखिँदैन अस्वाभाविक देखिन्छ । तापनि प्रचण्डजीले जुनसुकै तहमा पनि स्वार्थका निम्ति सहमति र सम्झौता गर्नुभएको छ । माओवादी केन्द्रको कुनै निश्चित सिद्धान्त नभएकाले कुनै पनि तहको सहमति उहाँले राष्ट्रिय हितलाई दाउमा राखेर सम्पर्णवादी नीति, लम्पसारवाद नीति लिएर भए पनि आफ्नो र आफ्नो पार्टीको स्वार्थ कसरी पूरा गर्न सकिन्छ त्यहीअनुसार उहाँले सम्झौता गर्नुभएको हो ।
सिंगो देश नै अहिले निर्वाचनमा होमिएको छ । बडो खुसीको विषय हो उपेन्द्र यादवजी, विजय गच्छदारजीदेखि नयाँ शक्ति अन्य नयाँ पार्टी र युवा जमात पूरै निर्वाचनमा होमिएको छ । पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ, एउटा ठाउँबाहेक । त्यहाँ माओवादीले अधिकतम गडबडी गर्न खोजिरहेको छ । अब हामी दोस्रो चरणको निर्वाचनको संघारमा छौं । केही पार्टीले निर्वाचनमा आउँछौं भनेपछि उहाँहरूका लागि धेरै कोसिस ग¥यौं तर एकपछि अर्को माग सारेर बढाउँदै गएको अवस्थामा अहिलेको राजनीति अगाडि बढिरहेको छ । राजनीतिक हिसाबले स्थानीय तहको निर्वाचनलाई पर सार्न सकिन्छ कि भन्ने दाउपेच पनि चलिरहेको छ ।

नवगठित सरकारको प्रमुख दायित्व के हो ?
यो सरकारको प्रमुख दायित्व नै स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गराउने हो । प्रधानमन्त्री देउवाजीले पनि स्वयं यसमा प्रतिबद्धता व्यक्त गरिसक्नुभएको छ । १४ असारमा तोकिएको दोस्रो चरणको निर्वाचन गराउन आउने बाधा, अडचन, दबाब सामना गरेर भए पनि निर्वाचन गराउने संकेत
गर्नुभएको छ, जुन सकारात्मक छ । सरकारको अर्को महŒवपूर्ण कार्यभार भनेको विकासका काम सहज रूपमा अगाडि बढोस्, आर्थिक लगानीका वातावरण बनोस्, भ्रष्टाचार र कुशासनको अन्त्य गरी सुशासनको प्रत्याभुति दिन सकोस् ।
त्यस्तै स्थानीय तहको निर्वाचन भइसकेको ठाउँमा सहज ढंगले काम गर्ने वातावरण बनाउनु हो । यस्तै अर्को महŒवपूर्ण काम भनेको छिमेकी मुलुकलगायत अन्य मित्र राष्ट्रहरूसँग सन्तुलित र सुमधुर सम्बन्धन बनाउने हो । कसैका सामु पनि आत्मसम्र्पण नगर्ने, अरूका अगाडि लम्पसारवादी नीति अवलम्बन नगर्ने, नेपाली स्वाभिमानको रक्षा गर्ने, नेपाली देशभक्तिप्रति गौरव बोध गर्ने, नेपालको आन्तरिक मामिलाबारे दुनियाँभर गीत गाएर नहिँडने, अरूको सल्लाहभन्दा पनि आफ्नो विवेक प्रयोग गर्ने, आफ्नै शक्तिमा भरोसा गर्ने, नेपालको हितका लागि अरूका सद्भाव प्राप्त गर्ने, नेपालको आन्तरिक समस्या आफैं समाधान गरी अरूलाई हात हाल्ने काम निरुत्साहित गर्नुपर्छ । परराष्ट्र नीति, सुरक्षा नीति राम्रोसँग कायम गर्न सकियो भने सरकार सफल भएको मान्निछ ।

असार १४ मा दोस्रो चरणको निर्वाचन हुँदै छ, राजपा नेपाल आन्दोलनमा छ, राजपालाई निर्वाचनमा ल्याउन प्रतिपक्षी दलले के गर्दै छ ?
प्रतिपक्षी दलले हाम्रो पार्टी नेकपा एमालेले अधिकत्म लचकता देखाएको छ । उहाँहरू पनि निर्वाचनमा आउनुहुन्छ भनेर एकै चरणमा घोषणा भएको निर्वाचन कार्यातालिकालाई दुई चरणमा गर्ने भनेपछि हामीले विरोध जनाएनौं । ३१ वैशाखमा गर्ने भनेको निर्वाचन ३१ जेठमा गर्ने निर्णय भयो, फेरि त्यसलाई सारेर ९ असारमा गर्ने भनियो, पुनः सारेर १४ असार मध्य वर्षामा गर्ने सरकारी निर्णयलाई पनि हामीले सहयोग नै ग¥यौं । केका लागि भन्दा यो राजपा नेपाललाई निर्वाचनमा ल्याउने कामका लागि । यति मात्रै नभई हस्ताक्षर बुझाउने ऐन पनि संशोधन गर्ने काम भयो । एमालेले उहाँहरू पनि निर्वाचनमा आउनुहुन्छ भनेर यो सबै काम गरेको हो । एमालेले राजपालाई निर्वाचनमा ल्याउन अझै लचकता अपनाउन तयार छ । तर, उहाँहरूले भने जस्तै अब निर्वाचन सार्ने पक्षमा हामी छैनौं । उहाँहरू चुनावमा हार्छु भन्ने कुराले डराउनुभएको छ ।

चुनावलाई सामना गर्ने उहाँहरूमा आँट छैन । चुनावसँग निहँु खोजेर, भागेर वा बहाना बनाएर चुनाव हुन सक्दैन । उहाँहरूकै पछाडि लागेको भए संविधान कहिल्लै बन्ने थिएन । उहाँहरूले पोजेटिभ नलिई नेगेटिभ लिएर डिस्टर्ब गर्न खोज्नुभएको छ । उहाँहरू चुनावमा आउनुहुन्छ भन्ने सबैमा आशंका रहेको छ तैपनि हामीले उहाँहरूलाई चुनावमा ल्याउन अधिकतम लचकता अपनाएका छौं ।

राजपाको माग सम्बोधन गर्न पटकपटक निर्वाचन सार्ने काम भयो तर संविधान संशोधनको काम त भएन नि ?
राजपाले एउटापछि अर्को अर्कोपछि थप अर्को माग थप्दै जान्छ, सबै सबैको माग त पूरा गर्न सकिँदैन । एमालेको पनि प्रत्यक्ष निर्वाचन कार्यकारी प्रधानमन्त्रीको माग छ त्यो पूरा गर्न तयार छन् अरू ? कांग्रेसभित्रै पनि संघीयताको विरोधमा आवाज आउँछ के त्यो सबै पूरा गर्ने ? हामीले निर्वाचनमा सहभागी होऔं भन्यौं । पार्टी अध्यक्षले पनि निर्वाचनपछि छलफल गर्ने भन्नुभयो । देउवाजीले पनि निर्वाचनपछि छलफल गर्ने भनिसकेपछि एकपछि अर्को माग अगाडि सार्दै जाने हो भने निर्वाचन कसरी गर्ने ? उहाँहरू सधैं माग थप्दै जाने र समस्या सुल्झाउने भन्दा पनि अल्झाउनेतर्फ लाग्नु भएकोे छ ।

कांग्रेस र माओवादी केन्द्रले एमालेकै कारण संविधान संशोधन हुन सकेको छैन भन्ने आरोप लगाउँछन् । राजपा संशोधन नभई निर्वाचनमा नजाने र आन्दोलन गर्ने भनिरहेको छ यस्तो अवस्थामा शान्तिपूर्ण वातावरणमा निर्वाचन कसरी सम्भव छ ?
राजपाले १० वर्षसम्म चुनावका लागि मानेन भने के गर्ने ? चुनावै नगरेर बस्ने ? अनि कुनै पनि एक पार्टीले धम्की दिएपछि के गर्ने ? विप्लवले पनि धम्की दिइरहेका छन्, बहिष्कार पनि गरिरहेका छन् , लिम्बुवान मुक्ति मोर्चाले धम्की दिएको छ । अनि चुनाव नै नगर्ने ? के भारतमा धम्की दिनेहरू छैनन् र ? तर चुनाव त भइरहेकै छ ।
संसारमा धम्की दिनेहरू छैनन् ? धम्की दिनेहरू लोकतन्त्रप्रति प्रतिबद्ध छैनन् भनेर बुझनुपर्छ । लोकतन्त्रमा जनताको मतबाट निर्णय गर्ने सार्वभौम अधिकारमा उनीहरूको विश्वास नै छैन । र, अर्को कुरा अब एमालेका कारण कहाँ संशोधन रोकिएको छ ? एमाले त पहिला निर्वाचन गरौं त्यसपछि नमिलेका
बुँदा कहाँ के छन् छलफल गरेर मिलाउने, संशोधनमा जाने भनिरहेको छ । यो हल्ला सबै एमाले विरुद्ध अफवाह फैलाउन कांग्रेस–माओवादीले भ्रम छरेका हुन् ।

त्यसो हो भने आन्दोलनका बीचमा शान्तिपूर्ण वातावरणमा चुनाव कसरी सम्भव छ ?
हुन्छ, जनताले चुनाव चाहिरहेका छन् । २० वर्षपछि चुनाव हुँदै छ । १५ वर्षसम्म जनतासँग जोडिएका निकाय जनप्रतिनिधिविहीन भएका छन् । अर्बौंको बजेट दुरुपयोग भइरहेको छ । यी सबै निकायमा जनताका प्रतिनिधि आए भने बजेटको सदुपयोग हुने आधार बन्छ । जनता सबै प्रक्रियामा सहभागी हुने आधार बन्नेछ । स्थानीय तहलाई अधिकार सम्पन्न बनाएर जनताको प्रतिनिधि ल्याउने काम लोकतन्त्रमा हुन्छ । लोकतन्त्रमा उहाँहरूको विश्वास, प्रतिबद्धता छ भने निर्वाचनलाई बार्गेनिङ, ब्ल्याकमेलिङको विषय बनाउनुहँुदैन ।

भनेपछि राजपा चुनावमा आयो भने एमालेले संविधान संशोधनमा छलफल गर्न तयार छ ?
छ, हाम्रो पार्टी अध्यक्षले भनिसक्नुभएको छ हामी छलफल गर्न तयार छौं । एकअर्काको विचार, भावना राम्रोसँग बुभ्mछौं । सहमति र सहकार्य गरेर एउटा बिन्दुमा पुग्छौं । एमालेका कारण कहाँ कहाँ अप्ठ्यारो भयो, त्यसको विवरण ल्याउनोस् भन्दा नल्याउने अनि एमालेलाई दोष लगाउने काम राम्रो होइन ।

वर्षौंदेखिको मधेस आन्दोलनमा सयौं जनाले सहादत प्राप्त गर्दा पनि उनीहरूको माग सम्बोधन नगर्ने ?
कांग्रेस र माओवादी उनीहरूको माग सम्बोधन गर्नमा जसरी अगाडि बढेका छन्, एमालेले विरोध मात्र किन गर्छ भन्ने मधेसवादी दलको आरोपलाई तपाई के भन्नुहुन्छ ? यो विषयमा हामीले पछि छलफल गरौं, पार्टी अध्यक्षले भन्नुभएकै छ । मधेसवादी दलहरूले जसरी एमालेलाई आरोप लगाएका छन् वा कांग्रेस माओवादीले जसरी एमालेविरुद्ध भ्रम छरेका छन् ती सबै मिथ्या हुन् । एमालेले मधेसी नेतालाई माया गर्ने होइन, त्यहाँ जनतालाई माया गर्ने हो । त्यसकारण त्यहाँ माग हेर्नोस् न पहिला नेपाली भाषालाई कमजोर बनाउन हिन्दी भाषालाई ल्याउन खोजिएको छ । र, अचम्म के छ भने नेपालका भनिएका पार्टीहरू यसमा लागेका छन् । नेपालको मैथिली, भोजपुरी, अवधी भाषाका लागि चिन्ता छैन, हिन्दी भाषाको चिन्ता छ । नेपाली नागरिकको चिन्ता छैन, भारतीय नागरिक नेपालमा आएर नेपाली नागरिकता कसरी लिने भन्ने कुराको चिन्ता छ । उनीहरू नेपाली जनताका प्रतिनिधि हुन् कि विदेशी जनताका प्रतिनिधि हुन् ? गम्भीर आशंका छ । यस्ता विषयलाई लिएर नेपाली जनतालाई मराउने ?, नेपाली जनतालाई केही पर्दा नबोल्ने, सीमाक्षेत्रमा एसबीआईले केही गर्दा चुक्क पनि नबोल्ने, तराईको धर्ती डुबानमा पर्दा केही नबोल्ने, नेपालको सिमाना मिचिएको ठाउँमा एक शब्द पनि नबोल्ने भनेपछि उहाँहरूप्रति गम्भीर आशंका छ । नेपाली देशभक्तिप्रति उहाँहरूको भावना छ कि छैन भन्ने कुरामा गम्भीर आशंका छ । नेपालको तराई मधेसका जनताप्रति उहाँको प्रतिबद्धता छ कि छैन भन्ने कुरा त्यहीँका मान्छेले प्रश्न गर्न थालेका छन् । त्यसैले उहाँहरूले आफ्नो कामबाट, व्यवहारबाट हामी सही छौं भनेर देखाउनुपर्छ ।

मधेसमा बलात्कार हुँदा, दलितलाई दुव्र्यवहार हुँदा एक शब्द पनि नबोल्ने ? तराई मधेसको गरिबी, अभाव, बेरोजगारीको समस्या छ भने त्यसलाई समाधान गर्ने एउटा पनि काम नगर्ने । उहाँहरू मन्त्री हुँदा पनि एउटा काम गरेको पाइँदैन । मधेसको समस्या समाधान गर्न, सिँचाइको व्यवस्था गर्न, बेरोजगारी, अशिक्षा हटाउन उहाँहरूको चिन्ता चासो छैन । उहाँहरूले उठाएको विषय वस्तु जनतासँग कति जोडिएको छ भन्ने कुरा त प्रदेश नं. ५ का जनताले नै हामीलाई त्यस्तो चाहिँदैन भन्ने कुरा अस्वीकार गरिसकेका छन् । प्रदेशलाई छिन्नभिन्न पार्ने काम हामीलाई स्वीकार्य छैन भन्ने कुरा त जनताले भनिसकेका छन् । उहाँहरूका माग केकस्ता छन् आउने दिनमा छलफल त हुन्छ नै तर मधेसी जनतालाई भ्रम फिजाएर आन्दोलनमा होमेर मर्न लगाएर गलत कुरा गर्ने हो भने १६÷१७ हजार जनतालाई माओवादीले मर्न लगाए । आफ्नो एकलौटी सत्ता कायम गर्न, कम्युनिस्ट सत्ता स्थापना गर्ने, सर्वहारा सत्ता कायम गर्नका लागि तर सफल त भएनन् । संसदीय व्यवस्था ध्वस्त पार्छौं भन्नेहरू त संसदीय व्यवस्थामा आउनुप¥यो । मान्छे मारेर माग पूरा भइदिएको भए भारतमा अहिले माओवादी आन्दोलनमा ६० हजारभन्दा बढी मारिएका छन् अनि उनीहरूको माग पूरा गरे भइगयो नि । काश्मीरमा त मान्छे दिनदिनै मरेका मरेकै छन् अनि उनीहरूको माग पूरा गरे हुन्छ नि । त्यसैले मान्छे मरेको आधारमा तुलना गर्ने होइन । उनीहरूको विषयवस्तु कत्तिको उपयुक्त छ भन्ने मुख्य कुरा हो । सानासाना बालबालिकालाई ढुंगा हान्न सिकाउने, अरूको कार्यक्रम बिथोल्ने यो मधेसलाई बर्बाद गर्ने काम भएको छ । मधेसको शिक्षा, स्वास्थ्य, व्यापार, उद्योगलाई बर्बाद गर्ने काम उनीहरूले गरेर त्यहीँका जनतालाई दुःख दिने काम गरिरहेका छन् । यसर्थ राजपाले समस्या खडा गर्ने काम गरेको छ ।

भनेपछि राजपाले भारतीय योजना बोकेको छ, मधेसलाई ध्वस्त बनाउने योजना लिएको छ ?
गरेकै छ, योजना नै धवस्त पार्न बोकेको त म भन्दिनँ, तर त्यसको कामबाट त्यही भएको देखिन्छ । बरु म उपेन्द्र यादवजीलाई धन्यवाद दिन चाहन्छु । उहाँलाई नेपालको माटोको माया छ, उहाँ लोकतन्त्र र जनताका लागि चुनावमा सहभागी हुनुभयो ।

पहिलो चरणको निर्वाचन जस्तै दोस्रो चरणको निर्वाचनमा एमाले पहिलो स्थानसहित जित्ने आधार के छ ?
विकास, समृद्धि, राष्ट्रिय स्वाभिमानका पक्षमा लिएको अडान, वृद्धदेखि युवा, बालबालिका सम्मको भावना बुझ्ने, हुलाकी राजमार्ग, बारा अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं–तराई मधेस फास्ट ट्र्याक, भैरहवा विमानस्थल, दु्रतगतिको रेल निर्माणलगायत महŒवपूर्ण कुरा एमालेले अगाडि बढाएकाले एमाले जित्ने सुनिश्चित छ ।

एमालेमा गुटबन्दीकै आधारमा टिकट वितरण भएको, एमाले नेताले नै आफ्नै नेतालाई हराएको र सोही कारणले पहिलो चरणको निर्वाचनमा चाहेजस्तो रिजल्ट आउन नसकेकाले दोस्रो चरणको निर्वाचनमा पनि यही प्रवृत्ति दोहोरिन्छ भन्ने हल्ला छ नि ?
पहिलो चरणको निर्वाचनमा आवश्यकता अनुसार उपयुक्त उम्मेदवार भएनन् । कतिपय ठाउँमा उपयुक्त उम्मेदवार हुँदाहँुदै पार्टीभित्रैबाट उसलाई हराउने काम भएको छ । यी सबै कारणले जति सिट ल्याउनुपर्ने हो, त्यस्तो आउन नसकेकै हो । त्यसमा पनि माओवादी र कांग्रेसको गठबन्धन, सत्ताको दुरुपयोग भएको छ । यी सबै चुनौतीका बाबजुद पनि राम्रै रिजल्ट आएको छ । पहिलो चरणको निर्वाचनमा एमाले १ सय ५० भन्दा बढी तहमा जित्नुपर्ने हो । गुटबन्दी गर्ने,
आफ्नै पार्टीका उम्मेदवारलाई चुनाव हराउन खोज्नेलाई तुरुन्त कारबाही गर्नुपर्छ । आफ्ना मान्छे भन्दै जोगाउने कारबाही नगर्ने, गुटबन्दीमा लागे पार्टी वा अरू कसैलाई फाइदा हँुदैन । काठमाडौंकै दक्षिणकाली, ललितपुर, सुर्खेत, दैलेखलगायत ठाउँमा पार्टीका नेतालाई पार्टीकै नेताले हराउने काम भएको छ । यो सबै कुरा
मैले बैठकमा उठाएको छु । दोस्रो चरणको निर्वाचनपछि कारबाहीको विषय बन्छ । तर निर्वाचनको बेला सबै विषयहरू उठाएर अघि बढ्न सकिँदैन निर्वाचनपछि गल्ती भएका विषयमा यथोचित प्रश्नहरू उठ्नेछन् कार्याकर्ताहरूको मनोभावना अनुसार बैठकमा कुरा उठ्छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।